देश विकास निर्माणको अभिभारा बोकेर आएका छौँ : श्रेष्ठ
फाइल फोटो
कैलाली - कैलाली क्षेत्र नं १ कि प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनताले देश विकास निर्माणको अभिभारा बोकाएर पठाएको बताएकी छिन् ।
कैलाली टीकापुरमा सञ्चालन भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला टीकापुर महोत्सवको उद्घाटन गर्दै श्रेष्ठले पाँच वर्षसम्म प्रतिनिधिविहीन कैलाली क्षेत्र नं १ का जनताले देश निर्माणको अभिभारासहित नेतृत्व तहमा पुर्याएको बताएकी हुन् ।
'हाम्रा लागि अबको पाँच वर्ष अवसर र चुनौती दुवैले घेरिएको छ । त्यो अवसर र चुनौतीलाई एकैसाथ टुङ्गोमा पुर्याउनुपर्नेछ', उनले भनिन्, 'जनताकामाझमा बाँडेका सपना पूरा गर्नुछ । दश वर्ष विकासमा पछाडि परेको टीकापुरलाई समृद्धिको बाटोमा डोर्याउने मेरो संकल्प रहनेछ ।'
उनले टीकापुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै त्यसका लागि आवश्यक अभावलाई पूरा गर्न प्रतिबद्ध रहने बताए । 'कर्णाली नदी टीकापुरको गहना हो । टीकापुर पार्क हाम्रो सम्पत्ति हो । कर्णाली, मोहना, पथरैया नदीमा पाइने डल्फिन हाम्रा सम्भावना हुन्', अध्यक्ष श्रेष्ठले भनिन्, 'ती सबै कुरालाई चलायमान बनाउनका लागि टीकापुर विमानस्थल सञ्चालनमा ल्याउनका लागि संघीय सरकारसँग समन्वय र सहकार्य गर्नेछु । पाँच वर्षभित्र टीकापुरबाट हवाई सेवा सञ्चालन गर्ने मेरो प्रतिबद्धता भयो ।'
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले विकासका काममा राजनीतिभन्दा समन्वय र सहकार्य आवश्यक रहने बताए । उनले सबै दृष्टिकोणबाट टीकापुर सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई साकार पार्नका लागि सबैको एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको उक्त महोत्सव माघ १५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा रु ७५ लाख बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ । महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति, कृषि प्रदर्शनी, विज्ञान प्रदर्शनी, रमाइलो मेलालगायतका आकर्षण रहेका छन् ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया