लगानीबाटै मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला तयार हुनेछ : अध्यक्ष नेपाल
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला सिर्जना हुने बताएका छन् ।
अखिल नेपाल किसान महासङ्घ र स्वयंसेवक आबद्ध सामाजिक संस्थाद्वारा यहाँ आज आयोजित उत्कृष्ट युवा तथा महिला किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले यस क्षेत्रमा हुने लगानीले उत्पादन वृद्धि र कृषक वर्गको आम्दानी तथा खर्च गर्ने क्षमताको विकास भई राष्ट्रिय अर्थतन्त्रका बहुपक्षीय आयामलाई गतिशील बनाउन योगदान पुग्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देशमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्न उद्यमशीलताको विकास र पूर्वाधार निर्माण गर्नुपर्ने बताए । त्यसका लागि राष्ट्रिय पुँजी सङ्कलनको खाँचो उनले औँल्याए । देश र जनतालाई गरिबीको दुष्चक्रबाट मुक्त गर्न स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले उपभोग्य वस्तु तथा उत्पादन वृद्धि गर्नुपर्ने उनको भनाइ थियो । समाजवादी दर्शनले जनताको सुख र समृद्धिको चाहना राख्ने बताउँदै उक्त विचारमा आबद्ध अनुयायीले स्वरोजगारी तथा उद्यमशीलताको विकास गर्ने गरेको धारणा उनको थियो ।
'स्वदेशी उत्पादनको प्रयोग गरी आयात न्यूनीकरण र निर्यात बढाउन सकेमा बढ्दो वैदेशिक व्यापार घाटा कम गर्न सकिने छ,' अध्यक्ष नेपालले भने । अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले विसं २०१७ मा मुलुकमा छरिएको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न किसान आन्दोलनको महत्वपूर्ण भूमिका रहेको बताए ।
कृषि, कृषक र जीवनका बीचमा गहिरो सम्बन्ध रहेको उनको भनाइ थियो । महासङ्घका महासचिव प्रमेश पोखरेल, पार्टीका केन्द्रीय सदस्य मोहन गौतम, युवा कृषक सुशील खनाललगायतले कृषि क्षेत्रलाई आधुनिकरण गर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने विचार व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया