एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउँछ : महासचिव पोखरेल
मकवानपुर- नेकपा एमाले महसचिव शंकर पोखरेलले राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउने र सहमतिको खोजी गर्ने बताएका छन् । 'सत्तापक्षको तर्फबाट हामी उम्मेदवार उठाउँछौं, प्रतिक्षमा रहेकाहरूले साथ दिए भने राष्ट्रिय सहमतिको सरकार बन्छ,' महासचिव पोखरेलले भने ।
राष्ट्रिय युवा संघ नेपाल तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आज हेटौंडामा यस्तो बताएका हुन् ।
समाजमा अराजकतावाद मौलाउँदै आएको र त्यसको सुरुवात व्यक्तिवादबाट भएको भन्दै उनले नेकपा एमाले यसको विरोधमा रहेको र सामूहिकतावाद स्थापित गर्न युवा संघ लाग्नुपर्ने बताए । समाज परिवर्तनको अभिभारा पूरा नभएको उनकाे भनाइ छ । उनले बदलिँदो समाजलाई सुदृढीकरण गर्न उत्पादनमा जोड दिनु अपरिहार्य रहेको उल्लेख गरे ।
एकभन्दा बढी संगठनमा बसेर पद ओगट्नुभन्दा कार्यप्रभावकारिता देखाउन उनकाे आग्रह छ । सबै जनताको बीचमा एमाले पुग्न नसकेका कारण देशमा राजनीतिक भविष्य कोर्नमा एमालेले नेतृत्व गर्न नपाएको उनले बताए । 'राजनीतिक आन्दोलन आशावादी हुन नसकेमा त्यसमा आकर्षण हुँदैन, युवाको नेतृत्वले गर्ने आन्दोलन समुदाय, जिल्ला केन्द्रीय हुनुपर्छ, राजधानी केन्द्रित हैन,' उनले भने, 'हरेक संगठनले सामाजिक सरोकारको विषय र प्रश्नमा सबैभन्दा कृयाशील संगठनको परिचय बनाउनुपर्छ ।'
कृषि, उद्योग, शिक्षा, स्वास्थ्य जहाँसुकै नेतृत्वका लागि अब्बल युवा बनाउने तर्फ जोड हुनुपर्ने पोखरेलकाे भनाइ छ । एमालेले मेहनत नगरे कांग्रेस बलियो हुने भएकाले युवा शक्तिले अतिरिक्त मेहनत गर्नै पर्ने उनले बताए ।
श्रमिकलाई व्यवस्थापक बनाउन तर्फ संगठनको ध्यान हुनुपर्ने उनले बताए । एमालेको युवा संघले यही काम गर्नुपर्ने सुझाव दिँदै उनले भने, 'युवाको रोजाइ विदेश हुनु भनेको देशको प्रगतिमा बाधा हुनु हाे । नेपालमै सम्भव छ भन्ने भाव नै चाहियो ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया