दल

केन्द्रीय समिति विस्तारको माग गर्दै नेविसंघ शेखर–गगन पक्षको स्ववियु लक्षित गतिविधि सुरु

इकागज |
माघ २०, २०७९ शुक्रबार २१:४६ बजे

काठमाडौँ- नेपाली कांग्रेसमा नेता शेखर–गगन पक्षधरले नेपाल विद्यार्थी संघमा स्ववियु लक्षित गतिविधि अघि बढाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाबाट अध्यक्षमा मनोनीत भएका दुजाङ शेर्पाले एकलौटी रूपमा विधि, विधान र सहमतिलाई लत्याएर गरेका निर्णयहरूका विरुद्धमा शेखर–गगन पक्षधरले छुट्टै गतिविधि गर्न सुरु गरेको हाे । नेविसंघमा आबद्ध उक्त पक्षधरको शुक्रबार बसेको विशेष भेलाले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावलाई केन्द्रित राखेर निर्णय गरेको छ । उक्त समूहका १३ जना विद्यार्थी नेतालाई विभिन्न समितिको संयोजक समेत तोकिएको छ । 


एक वर्षदेखि अध्यक्ष मात्र नियुक्त गरेर कांग्रेसले नेविसंघलाई समितिविहीन बनाएकाले तुरुन्तै पूर्ण केन्द्रीय कार्यसमिति विस्तार गरी एकीकृत नेविसंघ निर्माण गरेर स्ववियु निर्वाचनमा होमिनु पर्ने बेला अध्यक्ष शेर्पाको पछिल्ला कदम र निर्णयहरूले नेविसंघमा विग्रह ल्याएको जनाएको छ । अध्यक्षको कदमले स्ववियु निर्वाचनमा जिताउनको सट्टा विद्यार्थी नेताहरू माझ इगो जन्माएको र निर्वाचनमा नेविसंघलाई गम्भीर असर पर्ने ठहर गर्दै नेविसंघलाई जिताउने वातावरण निर्माण गर्नका लागि समितिहरू गठन गरेको भेलाले जनाएको छ ।

भेलाले घोषणापत्र तयारी समितिको संयोजकमा धर्मराज शाही, स्ववियु परिचालनको संयोजकमा सुवास पौडेल, स्ववियु प्रचार प्रसार समितिको संयोजक भुवन भट्ट, स्ववियु समन्वय समिति संयोजकमा विक्रम आदित्य सिंह, स्ववियु जिल्ला समन्वय समिति संयोजकमा राजकुमार बस्नेत, सुझाव संकलन समिति संयोजकमा शुसान्त आचार्य, उपत्यका क्याम्पस ईकाइ समन्वय समिति संयोजकमा नवीन केडी, युवा विद्यार्थी परिचालन समिति संयोजकमा जयराम वडाललाई चयन गरेकाे छ ।

त्यसैगरी, नेविसंघ सम्पर्क समिति परिचालन संयोजकमा तिर्थ मिश्र, स्ववियु निर्वाचन प्रशिक्षण संयोजकमा ताराबहादुर थापा, अन्तर प्रदेश समन्वय समितिको संयोजकमा तपेन खड्काले जिम्मेवारी पाएका छन् ।

शेखर–गगन पक्षका विद्यार्थीहरूको भेलाले अन्तर विश्वविद्यालय समन्वय समिति संयोजक मुना कंडेल, प्राविधिक विद्यार्थी समन्वय समिति संयोजकमा सुजन सापकोटालाई चयन गरेको छ । भेलाले संयोजकलाई आवश्यकता अनुसार समिति विस्तार गर्न अधिकार दिएको छ ।

स्ववियु निर्वाचन तयारीका लागि यसअघि अध्यक्ष शेर्पाले दुई समितिको संयोजक तोकेका छन् । संघका अध्यक्ष शेर्पाले घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचारप्रसार समितिको संयोजकमा डा. सन्तोष उपाध्यायलाई मनोनीत गरेका थिए । त्रिभुवन विश्वविद्यालयले चैत ५ का लागि स्ववियु निर्वाचनको मिति तोकेको छ ।

पार्टी नेतृत्वले तदर्थ समितिलाई हालसम्म पूर्णता दिन सकेको छैन । वर्तमान अध्यक्ष शेर्पाको कार्यकाल पार्टी निर्णय अनुसार फागुनमा सकिँदैछ ।

शेर्पाले एकतर्फी ढंगले जिल्ला तथा क्याम्पस संयोजक तोकेको भन्दै संस्थापनइतरले समय मै अध्यक्षले ध्यान नदिएर अगाडि बढे जिल्लामा समेत समानान्तर समिति बनाउने जनाएको छ । तर, अध्यक्ष शेर्पाले जिल्ला अध्यक्ष तोकेका केही जिल्लाहरूमा भने विद्यार्थी भेला गर्दै समानान्तर समिति बनाउन सुरु गरिएको छ । रुपन्देहीमा बिहीबार संस्थापनइतरले छुट्टै समिति बनाएको छ । असन्तुष्ट पक्षले कञ्चनपुर पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो ।


Author

थप समाचार
x