दल

‘नो नट अगेन’को व्यापक प्रचारले सोचेजस्तो नतिजा आएन : माधव नेपाल

इकागज |
माघ २१, २०७९ शनिबार १५:२४ बजे

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा ‘नो नट अगेन’ अभियानको व्यापक प्रचारले पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको बताएका छन् । शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा उनले यस्तो जिकिर गरेका हुन् । 

२५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा उनले चुनावमा अनपेक्षित परिणाम नआउनुका १६ वटा कारण प्रस्तुत गरेका छन् । ‘निर्वाचनको परिणाम जस्तो आयो त्यो अपेक्षित थिएन । वाम–लोकतान्त्रिक गठबन्धनको बहुमत आउला भन्ने आम अपेक्षा थियो, तर त्यस्तो भएन । हाम्रो पक्षमा जुन परिणाम आयो त्यो पनि अपेक्षा गरिएभन्दा फरक हो । प्रत्यक्षतर्फको भन्दा पनि समानुपातिकतर्फको परिणाम अझ बढी अनपेक्षित हो । किन यस्तो परिणाम आयो भन्नेतर्फ ध्यान दिँदा निम्न कारण देखा पर्दछन्,’ अपेक्षित परिणाम नआउनुका कारण शीर्षकमा उनले भनेका छन् । 


बुँदा नम्बर १० मा भनिएको छ, ‘यस पटक ‘पुराना पार्टी र नेताहरूलाई अब फेरि मत दिनु हुँदैन’ (No not again) भनेर व्यापक रूपमा नकारात्मक प्रचार गरिएको थियो । हाम्रो पार्टीका मुख्य नेताहरूको नामै किटेर र फोटा समेत देखाएर त्यस्तो प्रचार गरिएको थियो । साथै ‘पुरानाले गरेनन् अब हामी गर्छौँ’ भन्ने प्रचार पनि त्यत्तिकै व्यापक रूपमा गरिएको थियो । त्यस प्रकारको नकारात्मक प्रचारले मतदातामा प्रभाव पर्‍यो ।’

उनले कार्ययोजना कार्यान्वयन नहुनु, पार्टी पंक्ति परिचालित नहुनु, गठबन्धनका दलबाट पूर्ण सहयोग नहुनु, उम्मेदवारी नपाउनेको असन्तुष्टि, अवसरवादी प्रवृत्ति, पैसाबेगर चल्दै नचल्ने प्रवृत्ति, मुद्दा उठाउन र महत्व बुझाउन नसक्नुलगायत कारणहरु राम्रो नतिजाका लागि बाधक भएको चित्रण गरेका छन् ।

त्यस्तै, सरकारबाट अपेक्षित कार्य नहुनु, हाम्राविरुद्ध चर्को प्रहार हुनु, नयाँ मतदाताको रुझान नयाँतर्फ हुनु, प्रचारको काम व्यवस्थित नहुनु, निर्वाचन ज्यादै खर्चिलो हुनु, तालमेल हुँदा समानुपातिक असर पर्नु र निर्वाचन आयोगसमेत हाम्राविरुद्ध हुनुलाई उनले अपेक्षित नतिजा आउन नसक्नुका कारण मानेका छन् ।

प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरूलगायत विभिन्न विषय समेटिएका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबारदेखि सुरु भएको हो । यो भोलिसम्म चल्नेछ ।


Author

थप समाचार
x