दल

माधव नेपालको ठहर : राष्ट्रिय स्वतन्त्र पार्टी सस्तो लोकप्रियताको नारा दिएर उदाएको पार्टी हो

इकागज |
माघ २१, २०७९ शनिबार १५:४९ बजे

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सस्तो लोकप्रियताको नारा लगाएर उदाएको पार्टीको संज्ञा दिएका छन् । शनिबार अध्यक्ष नेपालले पार्टीको केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले यस्तो आरोप लगाएका हुन् ।

वर्तमान राजनीतिक परिस्थितिदेखि चुनावमा कम मत आउनुका कारणबारे समीक्षा गरिएको उक्त प्रतिवेदनमा उनले भनेका छन्, ‘रास्वपा प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रियताकाे नारा दिएर उदाएको पार्टी हो । सस्तो लोप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ । यसले पनि त्यही भूमिका निर्वाह गर्दै छ ।’


त्यस्तै, रास्वपासँग स्पष्ट दर्शन, सिद्धान्त र कार्यदिशा नभएको जिकिर गरेका छन् । रास्वपाले आफूलाई संविधानवादी भनेर दाबी गरे पनि गणतन्त्र र संघीयताप्रति स्पष्ट धारणा नभएको पनि उनको भनाइ छ ।

‘यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधानवादको कुरा गरे पनि गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन । यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो,’ प्रतिवेदनमा उल्लेख छ, ‘सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ । यसले पनि त्यही भूमिका निर्वाह गर्दैछ ।’

उनले रास्वपालाई पुँजीपति पार्टीका रूपमा पनि चित्रण गरेका छन् । 'प्रतिनिधि सभाको चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको पार्टी हो,’ प्रतिवेदनमा उल्लेख छ । 

नेपालले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरूलगायत विभिन्न विषय समेटिएका छन् । 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबारदेखि सुरु भएको हो । यो भोलिसम्म चल्नेछ ।


Author

थप समाचार
x