दल

नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

इकागज |
माघ २५, २०७९ बुधबार १४:४५ बजे

फाइल तस्बिर

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो । पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५ र १५ गते चर्को महंगीका विरुद्धमा देशव्यापी विरोध गर्ने बताए । उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि जिकिर गरे ।


पार्टीले संसद्‍मा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरूबीच रूपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको उनकाे भनाइ छ । उनले आगामी दिनमा राष्ट्रिय स्वाधीनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको उल्लेख गरे । उनका अनुसार पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका विरुद्ध संघर्ष पनि गर्ने छ ।

प्रवक्ता विश्वकर्माले जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटर ब्याजीलाई अपराधी घोषणा गर्नुपर्ने बताए । उनले सरकारसँग पार्टीले गरेको ३ बुँदे सहमति अनुसार एकीकृत जनक्रान्तिका कारण जेलमा रहेका नेताहरू रिहा हुनुपर्ने माग गरेको उल्लेख गरे ।


Author

थप समाचार
x