दल

दुई घण्टामा पल्टिएको सत्ता

सुदूरपश्चिमबाट कांग्रेसको सत्तारोहण

इकागज |
माघ २७, २०७९ शुक्रबार १३:५९ बजे

काठमाडौँ - नेपाली कांग्रेस फेरि सत्तामा फर्किन सुरु भएको छ । अप्रत्याशित रूपमा सत्ता गुमाएको कांग्रेसले प्रतिपक्षीमा बसेको दुई महिना पनि पुरा समय नहुँदै फेरि सत्ता यात्रा गर्न सुरु गरेको हो ।

यसपटक कांग्रेसको सत्तारोहण यात्रा सुदूरपश्चिमबाट सुरु भएको छ । एमालेका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएर पदमुक्त भएपछि कांग्रेसका कमल शाह बिहीबार नै नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।


सुदूरपश्चिममा दुई घण्टामा सत्ता पल्टिएको हो । बिहीबार विश्वासको मत लिने अन्तिम दिन एमालेका मुख्यमन्त्री रावलले सवा ४ बजे सुरु भएको बैठकमा झण्डै एक घण्टा भाषण गरेका थिए ।

तर जति नै भाषण लम्ब्याए पनि निर्णायक ठानिएको नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद काठमाडौँ छाडेर प्रदेशसभा बैठकमा उपस्थित नभएपछि उनको सरकार ढल्न पुगेको थियो ।

विश्वासको मत नपाएर पदमुक्त भएका उनले प्रदेश प्रमुख समक्ष राजीनामा पनि बुझाएका थिए । उनले राजीनामा बुझाएलगत्तै सुदूरपश्चिमका प्रदेश प्रमुखले पहिलो दलको संसदीय दलको नेताको हैसियतमा रहेका शाहलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

उपसभापति पूर्णबहादुर खड्काकै शब्दमा चुनावपछि कांग्रेसको नेतृत्वमा सुदूरपश्चिममा सरकार गठन भएको हो । कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी प्रमुख घटक भएर चुनाव लडेपनि सत्ताको भागबण्डा नमिल्दा माओवादी अध्यक्ष प्रचण्डले एमालेसँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गरेका थिए ।

प्रधानमन्त्रीका लागि प्रचण्डले गठबन्धन फेर्दा कांग्रेस झण्डै डेढ महिनाअघि रातारात प्रतिपक्षमा पुगेको थियो । तर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सँधै प्रतिष्पर्धामा रहने प्रचण्डले दिगो सत्ता प्राप्तिका लागि कांग्रेसबाट पनि विश्वासको मत लिएका थिए ।

जसकारण अब प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको प्रभाव बढ्दै जाने निश्चित छ भने एमाले विस्तारै ‘कर्नरमा’ धकेलिदैँ छ । सुदूरपश्चिममा फेरिएको सत्ता गठबन्धन अब अरु प्रदेशसँगै केन्द्रमा पनि स्वतः बहसको विषय बनेको छ । 

प्रचण्डकै शब्दमा दलीय राष्ट्रपतिले सरकारलाई दुःख दिने क्रम चलिरहेका बेला यसपटक गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा बढेको छ । यसलाई माओवादीको निर्णयअनुसार राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने भनिएको छ । 

डा.बाबुराम भट्टराईले राष्ट्रपति चुनावमा वर्तमान सत्ता गठबन्धनमा थप कम्पन आउने घोषणा गरिसकेका छन् । एमालेले बिहीबार अन्तिम समयसम्म पनि सुदूरपश्चिमको सरकार जोगाउन प्रधानमन्त्री प्रचण्डबाट निर्णायक प्रयासको आश गरेको थियो ।

यसका लागि ओली र प्रचण्ड बालुवाटारमा घण्टौँ बैठक बसेका थिए । तर नागरिक उन्मुक्ति पार्टीको अडानलाई प्रचण्डले पनि हल्लाउन नसक्दा सुदूरपश्चिममा एमालेको सरकार ढल्यो । 

सुदूरपश्चिममा सरकार ढलेपछि अब सत्तामा एमालेको यात्रा लम्बिने सम्भावना कम छ । बरु एमाले विस्तारै विभिन्न घटनाक्रमलाई देखाउँदै सत्ताबाट बाहिरिने सम्भावना बढेको छ । जसको प्रमुख कारण राष्ट्रपति चुनाव हुन सक्ने देखिएको छ ।

कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई हराएरै छाड्ने घोषणा गरिसकेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुअघि नै गगनको घोषणाले पनि एमाले झन् तरंगित भएको छ ।

सभामुखमा एमाले उम्मेदवारलाई सघाएको माओवादीले राष्ट्रपति चुनावमा गैरदलीय व्यक्ति प्रस्ताव गरेमा कांग्रेस उम्मेद्वारलाई सघाएर एमालेलाई झन् धक्का दिने योजनामा प्रचण्ड देखिन्छन् ।

त्यही सम्भावना देखिरहेका बाबुरामले राष्ट्रपति चुनावमा थप कम्पन आउने बताएका हुन् । सुदूरपश्चिम सरकार ढलेपछि एमालेले बैठक बसेर सत्ता गठबन्धन चुनौतिपूर्ण मोडमा उभिएको र बचाउनका लागि अधिकतम प्रयास गर्ने निर्णय गरिसकेको छ । बिहीबार बेलुकी नै माओवादीले पनि भर्चुअल बैठक बसेर सम्भावित सत्ता गठबन्धनको फेरबदलबारे नेता कार्यकर्तालाई सर्कूलर गरिसकेको छ ।

यस्तो अवस्थामा अहिले प्रचण्डकै नेतृत्वमा रहेको सरकार मात्रै केही वर्षका लागि स्थिर रहने र सत्ता गठबन्धनमा व्यापक फेरबदल आउने निश्चित छ । जसको परिणामस्वरुप एमाले सत्ताबाट बाहिरिएर पार्टी सुदृढीकरण अभियानअन्तर्गत दुई महिना ‘ग्रासरुट’ बुझ्न लाग्नेछ भने कांग्रेस सत्तामा उक्लिनेछ ।

यसको पनि ‘ब्रेकथ्रू’ राष्ट्रपति चुनावमा हुने सम्भावना बलियो बनेको छ । राष्ट्रपति चुनावपछि प्रदेश सरकारमा फेरि एमालेका मुख्यमन्त्री र मन्त्रीहरू बाहिरिएर कांग्रेसका मन्त्री तथा मुख्यमन्त्रीको प्रवेश हुने सम्भावना देखिन्छ ।
 


Author

थप समाचार
x