दल

अदालतले दोषी प्रमाणित गरेमात्रै निलम्बन हुने व्यवस्था गर्नुपर्ने तर्क

ज्ञानेन्द्र शाही भन्छन् -  प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरूलाई निलम्बन गर्न हुँदैन

इकागज |
माघ २७, २०७९ शुक्रबार १३:२६ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरूलाई निलम्बन गर्न नहुने तर्क गरेका छन् । शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै शाहीले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकीर गरेका हुन् । 

प्रमुख सचेतक शाहीले राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परे भने उसको मतदान गर्ने अधिकार हनन् हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था गर्न नहुने बताए । जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउने गरी नियमावलीको व्यवस्था गर्ने कुरामा आफू सहमत हुनै नसक्ने उनको भनाइ थियो ।


प्रमुख सचेतक शाहीले अदालतले दोषी प्रमाणित गरेपछि मात्रै सांसद पद निलम्बन हुने व्यवस्था गर्नु संविधान र कानुनको दृष्टिले पनि उपयुक्त हुने बताए । ‘जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउन पाइँदैन । यो गर्नै हुँदैन । यो पक्राउ गर्ने र हिरासतमा राख्नेवित्तिकै सबै अधिकार खोसिने हो भने सांसद जनताबाट जितको के महत्व भयो ?' उनले भने, 'सरकार र बलियो पक्षले कुनै पनि बेला यसलाई हतियारको रुपमा प्रयोग गर्न सक्छ । अदालतले फैसला गर्‍यो र दोषी ठहर भयो सांसद पद निलम्बन हुने कुरा पनि ठिक छ ।’

प्रमुख सचेतक शाहीले अनुसन्धानका लागि पक्राउ गर्दैमा सांसद पद निलम्बनमा पर्ने कुरा संविधानविपरीत हुने बताए ।


Author

थप समाचार
x