सत्ताबाहिर कांग्रेसी छटपटाहट हेरिनसक्नु छ !
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी भएको एक महिना पूरा भएको छ । राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाहको लक्ष्यमा केन्द्रित हुनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा राप्रपा सहभागी भएकोमा आलोचकहरूको टिप्पणी स्वाभाविक थियो, समर्थक र शुभचिन्तकको आशंका पनि यथावत छ । तथापि हामी आफ्नो लक्ष्य, गन्तव्य र मार्गचित्रमा प्रष्ट छौं ।
सरकार बनाउन र सरकार गिराउन विदेशीको साथ, सहयोग, समर्थन र हस्तक्षेप हुने गरेको तितो विगतको पृष्ठभूमिबीच यसपटक नेपालको निर्णायकत्व नेपालीको हातमा राख्ने अठोटका साथ अहिलेको गठबन्धन निर्माण भएको हो।
राप्रपाले त नेपालको निर्णयाकत्व नेपालीको हातमा भन्ने नारा नै लिएर चुनावमा होमिएको थियो । राप्रपा संख्या नपुगेर सरकारमा मिसिन गएको होइन, राप्रपा समेतको अग्रसरतामा अहिलेको गठबन्धन बनेको यथार्थ हो, यो लुकाउने विषय होइन ।
गठबन्धन अघि बढाउँदै गर्दा यसमा दायाँबायाँ गर्ने, किन्तु परन्तु लगाउने काम प्रचण्ड वा केपी शर्मा ओली, राजेन्द्र लिङ्देन वा रवि लामिछानेबाट हुने छैन । त्यस्तो भएमा गठबन्धन निर्माणको उद्देश्यमाथि धोका हुनेछ । यो गठबन्धन असफल हुँदा नेपालीको निर्णायकत्व असफल हुनेछ ।
यद्यपि आशंकाका बादलहरू मडारिरहेका छन्, यो राष्ट्रपतिको निर्वाचनसम्म जारी रहने निश्चित छ। पछिल्ला यात्राहरूले झनै आशंका बढाएका छन् । यसबाट अलमलमा पर्ने, विचलित हुने छुट गठबन्धन दल र नेताहरूलाई छैन।
प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा सरकारलाई आवश्यक नभएको मत जबर्जस्ती दिएर कांग्रेसले अस्थिरताको विजारोपण गरेको छ । कांग्रेस त अहिले मात्रै होइन हिजोदेखि नै अस्थिरताको पर्यायवाची हो नै । तर, कांग्रेसको चालबाजीबाट कोही बहकिनु हुँदैन । सत्ता बाहिरको कांग्रेसी छटपटाहट हेरिनसक्नु छ !
यो गठबन्धन बन्न हुन्थ्यो वा हुँदैन थियो यसबारे प्राज्ञिक बहस हुँदै गर्ला । गठबन्धन बनिसकेपछि अब यसलाई जोगाउँदै देश र जनताको हितमा आफूलाई केन्द्रित गर्नैपर्छ । अन्यौल, अस्थिरता र अराजकता देशको नियति बन्नु हुँदैन । थप अस्थिरता देशले धान्न सक्ने छैन । राप्रपाबाट सरकारमा सहभागी नेता मन्त्रीले राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाहको लक्ष्यमा आफूलाई समर्पित गरुन्- शुभकामना ।
(राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले सामाजिक सन्जालमा व्यक्त गरेको धारणाको सम्पादित अंश)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया