दल

७० नम्बर ल्याउनेलाई सवारी चालक अनुमति पत्र दिनु गलतः राजेन्द्रप्रसाद पाण्डे

इकागज |
फागुन ३, २०७९ बुधबार १५:३ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको बताएका छन् । 

बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको सो निर्देशिका अनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको विरोध गरेका हुन् । यस निर्देशिका अनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने र ट्रक, बस, ट्याङ्कर, स्काभेटर, डोजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने प्रावधान हुँदा दुई खालको लाइसेन्स हुने उनको भनाई छ । त्यसो हुनु गलत भएको सांसद पाण्डेले बताए ।  उनले यस्तो प्रावधान हुनुले ४० प्रतिशत राजश्व घटाउने, कर्मचारीको तजबिजी अधिकार बढ्ने, परिक्षाका लागि कर्मचारी र लागत बढ्ने हुँदा खर्च बढ्दै जाने बताए । 
 
उनले भने, ‘यो कुराले सरकार गलत बाटोमा छ र यदि लाइसेन्स दिनै मन भए यो खालको मापदण्ड परिवर्तन गर्नुपर्छ । ७० नम्बरका लाई नै लाइसेन्स दिन मन भएपनि रातो बत्ति बाल्दाबाल्दै गाडी क्रस गर्न पाउने व्यवस्था हुनुहुँदैन । यदी यस्तै हुने हो भने गाउँमा नागरिकता टोली आउँदाखेरी टेबल राखेर नागरिकता बाँडेको झैँगरी बाँडिदिए भइगयो नि त । एसइई पास गरेको विद्यार्थीलाई एउटा लाइसेन्स पनि लिएर जाउँ सँगसँगै यो सर्टिफिकेट सँगसँगै लिएर जाउँ भने भइगयो नि । किन यो ट्रायल गर्नुप¥यो ? किन यो परीक्षा गर्नुप¥यो ? अब नेपालका लाइसेन्सहरु दुई खालका हुनेभए । मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने भयो । ट्रक, बस, ट्याङ्कर, स्काभेटर, डोजर आदिलाई १०० नम्बर नै ल्याउने भयो । उही सडकमा गुड्दा दुई खालको लाइसेन्स प्रयोग हुनेभयो । दुईवटा मापदण्ड हुनेभयो । त्यसो हुनाले यो सरासर गलत छ । यो कुराले धेरै कुरामा असर पार्नसक्छ । यसले ४० प्रतिशत राजश्व घटाउँछ । कर्मचारीको तजबिजी अधिकार बढ्छ । परिक्षा गर्दा कर्मचारी र लागत दुवै बढाउँछ । ट्रायल सेन्टर थप्नुपर्ने हुन्छ । राज्यको अरु खर्च बढ्दै जान्छ । यो कार्यले झन धेरै दुर्घटना बढाउँछ र नेपालको लाइसेन्स अन्तर्राष्ट्रिय क्षेत्रमा अमान्य हुनसक्छ ।’ 


उनले यस प्रावधानले नेपालको लाइसेन्स अन्तर्राष्ट्रिय स्तरमा अमान्य हुनसक्ने पनि बताए । 


Author

थप समाचार
x