दल

भारत गएका पूर्वप्रधानमन्त्री खनाल स्वदेश फर्किए

इकागज |
फागुन ६, २०७९ शनिबार २१:५० बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता भएका छन् । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनको दुई दिवसीय कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भई उनी आज स्वदेश फर्किएका हुन् । 

भारतको पटनामा भएको महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्षनेतासँग भेटघाट गरेका थिए । 


पूर्वप्रधानमन्त्री खनालले विश्वमा विद्यमान अन्याय, अत्याचार तथा गरिबी न्यूनीकरणमा विश्व कम्युनिष्ट आन्दोलनको महत्वबारे धारणा राखेको नेता खनालको सचिवालयले जनाएको छ । नेपालमा कम्युनिष्टप्रतिको बढ्दो जनमत र विभाजित वामपन्थी शक्तिबारे पनि उहाँले सो अवसरमा जानकारी गराएका थिए । 

पार्टीको विदेश विभाग प्रमुखसमेत रहेका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालकी श्रीमती रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा शंकर खतिवडा थिए । 


Author

थप समाचार
x