दल

राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भयाे : माधव नेपाल

इकागज |
फागुन ७, २०७९ आइतबार १४:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ ? भन्ने टुंगो लाग्ने समेत बताए ।


आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियु स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उनले सबै पद आफैँले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हाबी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने जिकिर गरे । त्यसका लागि अब एक हप्ता मात्रै पर्खे पुग्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको पनि उल्लेख गरे ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गरे । के–के न गरौँला भनेर आएको सो पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको उनले आरोप लगाए ।

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरि मण्डलेहरू जाग्न लागेको बताए । उनले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दूर्गा प्रसाँईलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्क समेत गरे ।

अध्यक्ष नेपालले भने, ‘अहिले फेरि मण्डलेहरू जाग्न थालेको छ । मेचीको पुलमा उभिएर गरेको कुरा देख्नुभयो तपाईंहरूले । मण्डलेहरूको रोग एमालेभित्र घुसेको छ । त्यहीबाट एमाले केन्द्रीय सदस्य अझै पनि छन् कि कारबाही गरिसक्यो थाहा छैन । एमालेमा सम्मानपूर्वक बसिरहेकै छ । त्यो भनेको चाँही कम्युनिष्ट पार्टीका निम्ति जालमर्दो कुरा हो ।'

साे अवसरमा अध्यक्ष नेपालले नेपालको भरपर्दो राजनीतिक पार्टीका रूपमा एकीकृत समाजवादीलाई स्थापित गराउने गरी पार्टीको काममा लाग्न पनि अनेरास्ववियुका नेता, कार्यकर्तालाई निर्देशन दिए ।


Author

थप समाचार
x