दल

राष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफलमा जसपा

इकागज |
फागुन ७, २०७९ आइतबार १७:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरूसँग छलफल गर्दै आएको सो पार्टीले आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइ सो विषयमा छलफल सुरु गरेको हो । राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा बैठकमा छलफल गरिएको पार्टीका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिए ।


बैठकमा पार्टीको विधान अधिवेशनको तयारीका विषयमा पनि छलफल गरिएको थियो । विधान अधिवेशन र त्यसको समय तालिकासहितको विषयमा बैठकमा छलफल गरिएको प्रवक्ता अधिकारीले बताए ।

उनले भने, ‘पार्टीको आजको बैठकमा मुख्यतया पार्टीको विधान अधिवेशन र त्यसको समयहरूको सवाल र समसामयिक राजनीतिका विषयमा छलफल भयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पार्टीको ध्यानाकर्षण भएको छ । पार्टीले यसमा सोचिराखेको छ । त्यसबारेमा अहिले औपचारिक निर्णय भइसकेको छैन । किनभने कुनै फिचर क्लिएर भइसकेको छैन । कुनै पनि उम्मेदवारहरूको बारेमा टुंगो पनि लागि सकेको छैन । यसमा पार्टीले भर्खरै केही छलफल गर्नुपर्छ भन्ने पक्षमा छैन । छलफल सबै राजनीतिक दलहरूसँग जारी छ । त्यस अवस्थामा पछि पार्टीले निर्णय गर्छ ।’

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी, नेपालले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।


Author

थप समाचार
x