दल

पुरानो गठबन्धन ब्युताउने गृहकार्य तीव्र : प्रधानमन्त्री प्रचण्ड र नेपालबीच छलफल

इकागज |
फागुन ११, २०७९ बिहीबार १३:४० बजे

फाइल तस्बिर

काठमाडौं– पुस १० अघिको पाँच दलीय गठबन्धन ब्युताउने नेकपा माओवादी केन्द्रले विभिन्न दल र नेतासँगको भेटघाटलाई तीव्रता दिएको छ । पुरानो गठबन्धनलाई ब्युत्याउने विषयमै छलफल गर्न बिहीबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेट भएको छ । 

माओवादी स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेट्ने छन् । माओवादीका ती नेताले बिहीबार बेलुकासम्म पुरानो गठबन्धन ब्युतिएको औपचारिक निर्णय आउन सक्ने बताए ।


बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेट भएको थियो । उक्त भेटमा पुस १० अघिको पाँच दलीय ब्युत्याउने अनौपचारिक सहमति भएको थियो । 

सिंहदरबारमा प्रचण्ड र नेपालको वार्ता चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले सात दलीय सत्ता गठबन्धनमा खटपट भएको संकेत दिएका छन् । आफ्नै निवास बालकोटमा ‘विश्वशान्ति’ पुस्तक विमोचन गर्दै ओलीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने सरकारको निर्णयको विरोध गरे । 

‘‘हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई अबदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ,’ ओलीले भने । 

राष्ट्रपति निर्वाचनका विषयमा सहमति नहुँदा ओली-प्रचण्डबीच अविश्वास बढ्दै गएको थियो । ओली पूर्व सहमतिअनुसार नै राष्ट्रपति पदको उम्मेदवार एमालेबाटै हुनुपर्ने अडानमा छन् भने प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । पुस १० गते सभामुख तथा राष्ट्रपति एमालेले र प्रधानमन्त्रीमा ओली-प्रचण्डले आलोपालो गर्ने सहमति भएको थियो । 

प्रचण्ड र देउवाबीच पहिला को प्रधानमन्त्री बन्ने विषयमा सहमति हुन नसक्दा पुस १० गते तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको थियो । त्यसपछि प्रचण्डले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएका थिए ।


Author

थप समाचार
x