दल

राष्ट्रपति चयनबारे छलफल गर्न माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक सुरु

इकागज |
फागुन ११, २०७९ बिहीबार १८:३६ बजे

काठमाडौँ– फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्नका लागि माओवादी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले निर्वाचन अगाडिको गठबन्धन ब्युताएर नयाँ राष्ट्रपति चयन गर्नेबारे छलफल गर्ने एक नेताले बताए । 

बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी भएका छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् । यस्तै एकीकृत समाजवादीबाट भने अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसाल, घनश्याम भुसाल लगायतका नेता सहभागी छन् । 


अहिले राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा दलहरूबीच रस्साकस्सी चलिरहेका बेला यस बैठकलाई निर्णायक बैठकका रूपमा पनि लिइएको छ । जसपा र एकीकृत समाजवादीसँग छलफल गरेर माओवादी केन्द्र निर्वाचनपूर्वको गठबन्धन ब्युताउने योजनामा छ ।

पुरानो गठबन्धन ब्युतिएमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको सहमतिमा राष्ट्रपति निर्वाचित हुनेछन् । अहिले कांग्रेस र एकीकृत समाजवादीबाट राष्ट्रपतिको नाम चर्चामा आइरहेको छ भने उपराष्ट्रपतिमा जसपाको दाबी छ ।


Author

थप समाचार
x