दल

राष्ट्रपति निर्वाचन

'निर्णायक' छलफलमा दलहरू : तीन दलले कांग्रेस-एमाले र प्रचण्डले देउवा र ओलीसँग छुट्टाछुट्टै वार्ता गर्ने

इकागज |
फागुन १२, २०७९ शुक्रबार ७:२ बजे

फाइल तस्बिर

काठमाडौं - नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी मोर्चा बनाएर अघि बढ्ने भएका छन् । यसका लागि तीन दलले आज नेपाली कांग्रेस र नेकपा एमालेसँग आज छलफल गर्ने भएका हुन् ।

हिजो साँझ बसेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टी नेपालबीच भएको भद्र सहमतिअनुसार भाबी राष्ट्रपतिका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाममा सहमति खोज्न कांग्रेस र एमालेसँग छलफल गर्ने भएका हुन् ।


माओवादी संसदीय दलको कार्यालयमा बसेकाे तीन दलको बैठकले नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएकाे थियो, सोही सहमति अनुसार अन्य दलसँग सहमति खोज्नका लागि छलफल हुन लागेको नेताहरूले बताएका छन् ।

‘राष्ट्रपतिका लागि माओवादीले भन्दै आएको राष्ट्रिय सहमतिको पात्रका लागि माधव नेपालजी पनि एक पात्र हुनुहुन्छ । उहाँको नामलाई पनि सहमतिका लागि एउटा एजेन्डाका रूपमा अघि सार्ने  बैठकमा छलफल भएको छ,’ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सञ्चारकर्मीसँग भने, ‘आज अन्य दलहरूसँग छलफलमा उहाँको नाम पनि एउटा एजेन्डाको रूपमा रहनेछ ।’ उनका अनुसार भावी नेपालको नाम प्रस्ताव गरेर कांग्रेस र एमालेसँग सहमति खोजिने भएको हो ।

नेकपा एसको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपतिका लागि पार्टीको तर्फबाट उम्मेदवार दिने औपचारिक निर्णय गरिसकेको छ । नेकपा एसमात्रै यस्तो पार्टी हो, जसले भाबी राष्ट्रपतिका लागि पहलकदमी गर्ने औपचारिक निर्णय गरेर बसेकाे छ । जसअनुसार नेकपा एसले आफनो पार्टी (माधव नेपाल)को नाममा सहमति खोज्नका लागि हिजो साँझ नेकपा माओवादी र जसपाबीच छलफल गरेको हो ।

छलफल सकारात्मक भएपछि कांग्रेस र एमालेसँग छलफल गर्न लागिएको हो ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भाबी राष्ट्रपतिका लागि निर्णायक वार्ता हुने भएको छ । दुई नेताबीच आजै दिउँसो छलफल हुने भएको हो । 

नेकपा एसका नेता माधवकुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा अगाडि सार्न माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच  भएको सहमतिका बारेमा जानकारी गराउँदै त्यसका लागि ओलीसँग छलफल गर्न लागेका हुन् । 

यसअघि बिहान नेपाली कांग्रेससँग छलफल हुने बुझिएको छ ।


Author

थप समाचार
x