पूर्वराजा शाहलाई मोदीको चेतावनी- आफ्नो ठाउँमा बस्नुस्
काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् । शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठिक ठाउँमा बस्न चेतावनी दिएका हुन् । उनले एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले म नै राजा हुँ भन्ने सोचिरहेको भन्दै त्यस्तो नसोच्न चेतावनी दिए ।
देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै उनले देश पश्चगमनतर्फ नफर्कने बताए । मानव जातिका लागि गणतन्त्र सबैभन्दा सुन्दर व्यवस्था भएको उनले बताए । मन्त्री मोदीले पूर्वराजा शाहलाई आफूहरूले सम्मानपूर्वक नै ठिक ठाउँमा बस्न आग्रह गरेको स्पष्ट पारे ।
आफूहरूले देशलाई ठिक दिशा दिइरहेको भन्दै देशलाई खल्बल्याउनेहरूलाई खबरदारी गर्नुपर्ने उनले बताए । 'यो देशमा गणतन्त्र आइसकेको छ । जनताको छोरा/छोरी राष्ट्रपति हुन पाउँछ । लोकतन्त्रको सबभन्दा सुन्दर पक्ष हो गणतन्त्र । आफ्नो अधिकारको कुरा हरेक मान्छेले राख्न पाउँछ,' उनले भने, 'अब पश्चगमनमा कोही जान सक्दैन र पश्चगमनतिर जाँदैन । राज्य पश्चगमनतिर जानै सक्दैन । अग्रगमनतिर जान्छ । कहिलेकाहीँ क्रान्तिमाथि प्रतिक्रान्ति हुनसक्छ । तर यो प्रतिक्रान्ति पनि होइन । यसो एक/दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजा फेरि पनि म हुँ भन्ने किसिमको सोचिराखेको छ । पूर्वराजा ठिक ठाउँमा बस्नुपर्छ । हामीले उहाँलाई सम्मान दिएर नै भन्ने गरेका छौँ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया