दल

नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियतको सम्मान होस् : नेता महर

इकागज |
फागुन १२, २०७९ शुक्रबार १९:४७ बजे

गण्डकी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस कास्कीको आयोजनामा ‘स्ववियु निर्वाचन सन्दर्भमा : कांग्रेस र भ्रातृ संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आगामी दिनमा देखिन सक्ने चुनौतीको आकलन गर्नुपर्ने बताए ।


'कांग्रेस सधैं मुलुकको हितमा काम गर्छ । यसपटक पनि हामीले राजनीतिक स्थायित्व खोजिरहेका छौँ । प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पनि राजनीतिक स्थायित्वको खोजी नै हो,' उनले भने, 'यो कुरामा मुलुकका अन्य ठूला दल पनि गम्भीर बन्नुपर्छ । यसपटक राष्ट्रपति सहमतिको आधारमै कांग्रेसले पाउनुपर्छ ।' 

उनले कांग्रेसले मुलुकको हितका लागि कार्यकारी पद लामो समयका लागि गुमाउँदा आफू संसद्को सबभन्दा ठूलो दल भएको र भोलि जनतालाई दिने जवाफको हेक्का राख्न उनले पार्टी नेतृत्वलाई आग्रह गरे । 'कार्यकारी अधिकार रहेका सबै पद गुमेका छन् । यस्तो अवस्थामा कांग्रेसले मुलुकको हित खोजिरहेको छ । यो उदारताको गठबन्धनमा रहेका दलले सम्मान गर्नुपर्छ,' उनले भने ।

नेता महरले स्ववियु मिनी संसद् भएकाले यसको निर्वाचनमा बिनागठबन्धन सफलता हात पार्नु नेविसङ्घ र कांग्रेसको प्रतिष्ठाको विषय बन्नुपर्ने बताए । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विश्वविद्यालय र क्याम्पसमा अनियमितता बढेको उनको भनाइ थियो । 

'कतिपय क्याम्पसमा दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन एक दशकसम्म पनि हुन सकेको छैन । यसले क्याम्पसमा हुने विकास निर्माणमा अनियमित भइरहेको छ । विद्यार्थीका हकहितका क्षेत्रमा काम हुन सकेको छैन । पाउनुपर्ने विद्यार्थीले छात्रवृत्ति पाउन सकेका छैनन् । शिक्षाको स्तर दिनानुदिन खस्किँदो छ । ठूलो सङ्ख्यामा सक्षम युवा नेतृत्व निर्माण हुन सकेको छैन,' उनले भने । 


Author

थप समाचार
x