राष्ट्रपति निर्वाचनबारे राप्रपा भन्छ– सबै विकल्प खुला राखेका छौँ
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गरिनसकेको जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आफूहरूले सबै विकल्प खुला राखेको बताए ।
राप्रपाले कांग्रेस र एमाले उम्मेदवारमध्ये कसलाई समर्थन गर्छ भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘हाललाई हामीसँग सबै विकल्पहरू खुला छन् । राप्रपा निर्वाचनमा सहभागी हुन पनि सक्छ, तटस्थ पनि रहन सक्छ । हामीले कांग्रेस उम्मेदवारलाई पनि समर्थन गर्न सक्छौँ, एमाले उम्मेदवारलाई पनि समर्थन गर्न सक्छौँ ।’
एमाले र कांग्रेसका उम्मेदवारले राष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्दा आफूहरूले कसैलाई समर्थन वा प्रस्ताव नगरेको प्रवक्ता श्रेष्ठले बताए । उनले अब विकसित हुने राजनीतिक परिस्थितिका आधारमा राप्रपाले निर्णय गर्ने बताए । निर्णय लिन आफूहरूसँग प्रशस्त समय भएको पनि उनको भनाइ छ । ‘निर्वाचन २५ गते हो । हामीले २३ वा २४ गतेसम्म निर्णय गरिसक्छौँ,’ उनले बताए ।
शुक्रबार पुस १० गते बनेको सात दलीय गठबन्धनमा भत्किएर पुरानै पाँच दलीय ब्युतिएपछि राप्रपाले असहमति जनाउँदै सत्ताबाट बाहिरिएको थियो । राप्रपाका चार मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट सामूहिक राजनीनामा बुझाइसकेका छन् ।
स्रोतका अनुसार राप्रपाले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्नेछ । ‘सात दलीय गठबन्धन भत्किनुअगाडि पनि राप्रपा पुस १० को सम्झौताअनुसार राष्ट्रपतिको उम्मेदवार एमालेबाटै बन्नुपर्ने भनिरहेको थियो । २५ गते पनि त्यही गर्छ,’ राप्रपाका एक नेताले भने ।
पुस १० को सम्झौताविपरीत सात दलीय सत्तारूढ गठबन्धनले निर्णय गर्दा त्यो राजनीतिक बेइमानी हुने राप्रपाले बताउँदै आएको थियो ।
राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया