दल

काम गर्ने बेलामा हट्नु परेको गुनासो

स्वास्थ्यमा धेरै समस्या छन् भन्‍ने कुरा मन्त्री भएपछि मात्रै थाहा पाएँ : पदम गिरी

इकागज |
फागुन १६, २०७९ मंगलबार १२:५८ बजे

फाइल तस्बिर

काठमाडौँ - निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको गुनासो गरेका छन् । ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अहिले काम सुरु गर्ने बेला आफूले मन्त्रालयबाट बिदा लिनु परेको उनले गुनासो गरे । स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै निवर्तमानमन्त्री गिरीले मन्त्रीको रूपमा आफूले वेथित रहेको समय त्यस क्षेत्रको अध्ययनमा बिताएको पनि स्पष्ट पारे । 

स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरू रहेको कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको उनको भनाइ छ । ‘४२ दिन स्वास्थ्यमन्त्रीको रूपमा रहेर काम गर्ने अवसर प्राप्त भयो । यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययन धेरै घनिभूत ढंगले गरेँ,' उनले भने, 'अब स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो । त्यही बेला यहाँबाट बिदा लिनुपर्ने अवस्था बन्यो । स्वास्थ्य मन्त्री बन्नु अघि यस क्षेत्रमा यति धेरै विकराल समस्या छ भन्ने मलाई थाहा थिएन ।’


निवर्तमानमन्त्री गिरीले स्वास्थ्य विमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यक्ता औंल्याए । त्यसका लागि विमितलाई दिने रकम एक लाखबाट बढाएर ५ लाख पुर्‍याउनुपर्ने उनको सुझाव थियो । निवर्तमानमन्त्री गिरीले स्वास्थ्य विमा बढाउन आफूले अर्थमन्त्रीसँग कुरा गरेको र त्यसलाई बढाएर लैजाने योजना आफूले तय गरेको उल्लेख गरे।


Author

थप समाचार
x