संसद्को प्रमुख प्रतिपक्षी दलमा कांग्रेस र एमाले दुवै दलको दाबी
काठमाडौँ- संसद्का दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले प्रमुख प्रतिपक्षी दलमा आफ्नाे दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद्को पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेले विश्वासको मत दिएका थिए । सरकारलाई विश्वासको मत दिएपनि आफू सरकारमा सहभागि नभएको भन्दै नेपाली कांग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो । राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालीन सत्तारूढ गठबन्धन विभाजित भएपछि गत सोमबार नेकपा एमालेले सरकार छोडेको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।
यससँगै नेकपा एमालेले आफूहरू प्रमुख प्रतिपक्ष भएको दाबी गरेको छ । कुन–कुन दल सत्तापक्ष र कुन–कुन दल प्रतिपक्ष हुन् भन्ने यकिन नभइसकेको अवस्थामा बुधबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गतेसम्मका लागि स्थगित भएको छ । कांग्रेस र एमाले भने आफूलाई प्रमुख प्रतिपक्षी भएको तर्क पेस गरिरहेका छन् ।
यसै सन्दर्भमा बुधबार नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस पार्टी प्रमुख प्रतिपक्षी दल भएको बताए । उनले प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवा रहेको पनि उल्लेख गरे । कांग्रेस सरकारमा नजाँदासम्म संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहने उनको भनाइ छ ।
एमाले पनि सरकारमा नरहेको अवस्था भएमा संख्यात्मक हिसाबले कांग्रेस अगाडि रहेकाले कांग्रेस नै प्रमुख प्रतिपक्षी दल हुने उनले बताए ।
उनले भने, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हो । प्रमुख प्रतिपक्षी दलको अथवा विपक्षी दलको नेता माननीय शेरबहादुर देउवाजी हुनुहुन्छ । यसमा कुनै आशंका, यसमा कुनै दुविधा हुनुपर्ने कुनै कुरा छैन । हामी एमालेभन्दा आजका दिनमा संख्यात्मक रूपले हामी अगाडि छौँ । संख्यामा जो सबैभन्दा ठूलो दल हुन्छ त्यही विपक्षी दल हुन्छ । त्यसमा कुनै दुविधा गर्नुपर्ने कारण छैन । त्यो एमालेले पनि राम्ररी बुझेको छ । संसद्ले पनि राम्ररी बुझेको छ । त्यसमा कुनै दुविधा छैन ।’
त्यस्तै नेकपा एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्माले एमाले सरकारमा नरहेको र समर्थन पनि नगरेकाले प्रमुख प्रतिपक्षी भएको बताए । उनले आफूहरूले औपचारिक रूपमै प्रमुख प्रतिपक्षी भएको दाबी गरिसकेको स्पष्ट पारे । यद्यपि को प्रमुख प्रतिपक्षी दल हो भन्ने कुरा निरूपण गर्ने काम संसद् सचिवालयको भएको उनले बताए ।
उनले भने, ‘हामी त प्रतिपक्षमा छौँ भनेका छौँ । निर्धारण गर्ने काम सचिवालयको हो । सत्तापक्षमा हुनका लागि जोड गर्ने भन्दा पनि प्रमुख प्रतिपक्ष हुनका लागि जोड गर्ने जस्तो देखियो । नेपाली कांग्रेसले प्रतिपक्ष नै हौँ भन्छ भने उसको कुरा रह्यो । हामी त औपचारिक रूपमा प्रतिपक्ष छँदैछौँ । ऊ सत्तामा नरहेर प्रमुख प्रतिपक्ष वा प्रतिपक्ष नै हुन्छु भन्छ भने पनि उसको कुरा हो । यसमा निरूपण गर्ने काम सचिवालयको हो । नेकपा एमालेमा कुनै दुविधा नै छैन । हामीले प्रष्ट पारि नै सकेका छौँ । हामी सत्तामा छैनौँ ।’
त्यसैगरी एमालेका केन्द्रीय सदस्य सांसद ठाकुर गैरेले एमाले संसद्को प्रतिपक्षी बेन्चमा बस्ने बताए । एमाले प्रतिपक्षी भएर जनताको आवाज संसद् र सडकबाट उठाउने उनकाे भनाइ छ ।
उनले भने, ‘आज यो सरकार बहुमतको पोजिसनमा छैन । यसको अर्थ यो अल्पमतको सरकार हो । नेकपा एमाले सरकारबाट बाहिरिएको छ । समर्थन फिर्ता लिएको छ । स्वतः नेकपा एमाले आजको प्रतिपक्ष दल हो ।’
उनले एमाले सरकारमा रहँदा पनि कांग्रेसले सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै कांग्रेस सत्तापक्ष अथवा प्रतिपक्ष दुवै हैसियतमा बस्न नसकेको टिप्पणी गरे । उनले कांग्रेसको परिचय खुल्न नसकेको प्रतिक्रिया दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया