राष्ट्रपति निर्वाचनपछि सरकार गठन हुन्छ : उपसभापति खड्का
सुर्खेत- नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपति निवार्चनपछि मात्रै नयाँ सरकार गठनको प्रकृया सुरु हुने बताएका छन् ।
नेपाल प्रेस युनियन सुर्खेतले आज विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उपसभापति खड्काले यस्तो बताएका हुन् । खड्काले अहिले आठ राजनीतिक दलहरू राष्ट्रपतिको निर्वाचनमा केन्द्रित रहेको भन्दै त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अनि सरकार गठनको प्रकृयामा अघि बढ्ने जिकिर गरे ।
आफ्नो पार्टीको कमजोरी कै कारण पुष १० मा गठबन्धन भत्किएको भन्दै अहिले पुनःआठ दलको गठबन्धन बनेकाले यो निरन्तर अगाडि बढ्ने दाबी समेत उनले गरे । उनले प्रदेश सरकारको परिवर्तन हुने/नहुने भन्नेबारेमा एमालेको निर्णय पर्खिने बताए ।
उपसभापति खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा नै वर्तमान सरकार अगाडि बढ्ने उल्लेख गरे । उपसभापति खड्काले केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा मन्त्री बन्ने भन्ने हल्ला आएको भन्दै आफू मन्त्री बन्ने पक्षमा नरहेको स्पष्ट पारे ।
उनले पछिल्लो सत्ता समीकरण परिवर्तन हुनुको मुख्य कारण नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको दाबी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया