दल

समाजवादीले एमालेलाई भन्याे : पौडेलको प्रस्तावक हाैँ, नेम्वाङलाई सहयाेग गर्न सक्दैनाैँ

इकागज |
फागुन १८, २०७९ बिहीबार १५:० बजे

काठमाडौँ- नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।

बिहीबार एमालेका उपाध्यक्षसमेत रहेका उनले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग भेट गरेका हुन् । उनीसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल छन् ।


नेकपा (एकीकृत समाजवादी) बाट भने अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा  छलफलमा सहभागी रहेका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार बनेका रामचन्द्र पौडेल र एमालेका नेम्वाङ राष्ट्रपतिको लागि सहयोग माग्न तीब्र भेटघाटमा छन् ।

नेकपा (एकीकृत समाजवादी)ले भने बुधबार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नथ खतिवडाले भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको बताए । उनले पार्टी अध्यक्ष नेपालले मत माग्न आएको धन्यवाद ज्ञापन गर्दै बिदा गरेको बताए ।

उनले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी रामचन्द्र पौडेलेको प्रस्तावक रहेको र तत्काल यसै गर्छौं भन्ने सम्भावना नरहेको उल्लेख गर्दै एक पार्टीले अर्को पार्टीको नैतिकतालाई बुझेर अघि बढेको बताए ।

‘राष्ट्रपति निर्वाचनमा हामी माननीय रामचन्द्र पौडेलको प्रस्तावक रहेको पार्टी भएको हुनाले तत्काल उहाँहरूलाई यसो गर्छौं भन्न सक्ने स्थिति पनि थिएन,' खतिवडाले भने, ‘त्यो कुरा उहाँहरूले पनि बुझ्नुभएको छ । मनन पनि गर्नुभएको छ ।’

त्यस्तै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफूहरूले पार्टीबाट उम्मेदवार नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र कुराकानी सकारात्मक रहेको उल्लेख गरे । उनले दुई पार्टीबीचको एकताको अभियानलाई अघि बढाउने कुरामा पनि सहमति भएको बताए ।

उपमहासचिव गुरुङले दुई पार्टीबीच पार्टी एकताको अभियानको शुभारम्भ भएको पनि बताए । 


Author

थप समाचार
x