दल

एमाले भन्छ : रास्वपाले हामीलाई सघाउँछ, रास्वपा भन्छ : पुस १० को सहमतिलाई मध्यनजर गरेर निर्णय लिन्छौँ

इकागज |
फागुन १८, २०७९ बिहीबार १७:१४ बजे

काठमाडौँ- नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ ।

बिहीबार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसद्‍मा सहभागी हुने राजनीतिक दलहरूसँग भेटघाट गर्ने क्रम स्वरूप नै रास्वपा सभापति लामिछानेसँग भेट गरेका हुन् ।


भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार दिएका नेम्वाङलाई सहयोग गर्ने कुरा भनाइबाट बुझेको बताए । उनले यस बेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै रहेको बताए । उनले रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्ने कुरा राखेको बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरूले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको उल्लेख गरे ।

महामन्त्री ढकालले पुस १० गतेको सहमति आफूहरूले मनन गरेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर बैठकमा छलफल गरी निर्णय गर्ने कुरामा आफ्नो पार्टी रहेको बताए । राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू सांसदहरूलाई भेट्ने क्रममा व्यस्त छन् ।  


Author

थप समाचार
x