दल

सबै सांसदहरू मेराे उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ : रामचन्द्र पौडेल

इकागज |
फागुन १८, २०७९ बिहीबार १७:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारका रूपमा आफूमाथि सबैले भरोसा राखेको बताएका छन् ।

बिहीबार आठ दलको तर्फबाट राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सबैको माया पाएको बताए । उनले सबै सांसदहरू आफ्नो उम्मेदवारीप्रति सकारात्मक रहेको पनि जिकिर गरे ।


वरिष्ठ नेता पौडेलले सांसदहरूले आफूले संविधानको संरक्षण गर्ने कुरामा भरोसा मानेका पनि उल्लेख गरे । उनले भने, ‘सबैसँग सम्पर्क र भेटघाट भइरहेको छ । मैले आफ्नो जिम्मेवारी पूरा गर्छु भनेर उहाँहरूलाई विश्वास दिलाउने काम गरिराखेको छु । सबै अत्यन्त सकारात्मक हुनुहुन्छ । तपाईं पुरानो मान्छे भनेर माया गर्छन् । सबै साथीहरूले माया गर्नुहुन्छ । तपाईंमाथि भरोसा छ, तपाईंले अवश्य पनि संविधानको संरक्षण गर्नुहोला भन्छन् ।’

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र)का सांसद नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा जस्तो संविधान मिच्ने काम राष्ट्रपतिबाट नहोस् भनि सचेत गराएको बताए । अध्यक्ष दाहालले आगामी दिनमा हरेक मुद्दाहरूमा राष्ट्रिय एकता गरेर जानुपर्ने कुरा बताएका उनले उल्लेख गरे ।

त्यसैगरी अभिमुखीकरण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता, संविधान संशोधन र राजनीतिक बन्दीहरूको रिहाइको सम्बन्धमा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलबाट प्रतिबद्धता आएकाले समर्थन गरिएको कुरा राखेको सो पार्टीका सांसद शरदसिंह भण्डारीले जानकारी गराए ।

यस्तै सांसद भण्डारीले आफूहरू पुष १० गतेभन्दा अगाडिको गठबन्धनको घटक भएको भन्दै आफूहरू सरकारमा स्वतः सहभागी हुने बताए । उनले आफूहरू सरकारमा सहभागी हुने भए पनि मन्त्रालयको सम्बन्धमा भने छलफल भइ नसकेको स्पष्ट पारे ।


Author

थप समाचार
x