दल

ओलीले चेतावनी दिँदै भने : सरकार राष्ट्र र जनताको हितविपरित चल्न खोजे सैह्य हुँदैन

इकागज |
फागुन २१, २०७९ आइतबार १७:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्र र जनताको हितविपरीत चल्न खोजे सैह्य नहुने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले राष्ट्र र जनताको हितविपरीत चल्न खोज्ने सरकारका कुनै पनि गतिविधिलाई आफूहरूले सफल हुन नदिने बताए । सुखानीका सहीदहरूको स्मृतिमा आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले राष्ट्रियताको कुरा गर्दा कसैले चित्त नदुखाए हुने समेत जिकिर गरे ।


राष्ट्रको स्वाधीनता र स्वाभिमानमाथि अतिक्रमण गरिए वा होच्याउने काम गरिए आफूलाई स्वीकार्य नहुने उनको भनाइ थियो । सत्ता समर्थक दलहरूले सत्ता स्वार्थको राजनीति गरिरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूहरू भने राष्ट्र र जनताको हितका लागि काम गरिरहने बताए ।

सत्ता स्वार्थको राजनीति गर्दा देश डुब्छ भने यहाँको भूगोलमाथि अतिक्रमण हुन्छ भने त्यसमा टुलुटुलु हेरेर बस्न नसकिने उनकाे भनाइ छ । हाम्रा पुर्खाले तोपसँग खुकुरीले लडेर, तोपसँग चक्कुले लडेर कायम गरेको भूगोल, स्वाभिमान बहुतै महंगो मूल्यमा हामीले प्राप्त गरेको उल्लेख गर्दै ओलीले त्यसलाई दायाँबायाँ हुन दिन नसकिने बताए । उनले न्याय र समानताको आधारमा सबै राष्ट्रहरूसँग बराबरीको सम्बन्ध आफूहरूले राख्न चाहेको पनि पटकपटक दोहोर्‍याए ।

ओलीले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दाबी समेत गरे । २०६५ सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएकाले उनीहरूकै कारण नेपालमा राजतन्त्र अन्त्य भएको भन्न नमिल्ने उनको तर्क थियो ।

अध्यक्ष ओलीले आफूहरूले वास्तविक सहीदहरूको मात्रै सम्मान गर्ने पनि बताए ।


Author

थप समाचार
x