दल

राजनीति पुनःलयमा फर्कन थाल्यो : प्रवक्ता डा महत

इकागज |
फागुन २३, २०७९ मंगलबार २१:२५ बजे

त्रिशूली- नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतले पछाडि फर्केको देशको राजनीति पुनः सम्हालिएर अघि बढ्न थालेको बताएका छन् ।

नुवाकोट जिल्लास्तरीय बाह्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समापन कार्यक्रमलाई आज नुवाकोटको लिखुमा सम्बोधन गर्दै उनले जनमत र राष्ट्रिय आवश्यकताअनुसार गरिएको गठबन्धनले बाटो बिराएर पछाडि फर्कन थालेकामा कांग्रेसको सक्रियताले पुनः लयमा ल्याउन सफल भएको बताए । 


'सबै तहका निर्वाचन सम्पन्न भएसँगै अब विकासको अवसर सिर्जना भयो भनेर खुसी भएका जनतामा गत पुस १० गतेपछि नैराश्यता छाएको थियो,' डा महतले भने, 'राष्ट्रपतिको निर्वाचनले पुनः जनमतको सम्मान र जनताको चाहनालाई सम्बोधन गर्नेछ । आशा गराैँ यो निश्चित गन्तव्यमा पुग्नेछ ।'

देशमा राजनीतिक स्थिरता र स्थिर सरकारको निर्माण गर्न बाटो खुला भएकाले विकास निर्माणमा केन्द्रित हुन बाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध दललाई जनमतअनुसार एकजुट बनाएको उनको भनाइ थियो ।

मुलुक अहिले आर्थिक सङ्कटमा रहेकाले अधिकार सम्पन्न स्थानीय तहले जनताको सेवा तथा सुविधा पुर्‍याउन र स–साना माग पूरा गर्न लाग्नुपर्ने उल्लेख गर्दै डा महतले ठूल्ठूला योजना कार्यान्वयनमा ल्याएर मुलुकलाई समृद्धितर्फ लम्काउने बताए ।


Author

थप समाचार
x