मिनेन्द्र रिजाल भन्छन्- नवनिर्वाचित राष्ट्रपति पौडेल अब गठबन्धन र कांग्रेसको परिधिभित्र बस्नु हुँदैन
माओवादी घटकहरू एक भए कांग्रेस पनि संसदीय फाँटका दलहरूसँग एक ठाउँमा उभिन्छ
फाइल तस्बिर
काठमाडौँ - नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम गर्नु नहुने बताएका छन् । नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षीको रूपमा काम गर्न नहुने स्पष्ट पारेका हुन् ।
राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम नगर्ने उनको भनाइ छ । 'रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षीको रूपमा, गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम गर्नुहुन्न । ६० वर्षभन्दा लामो राजनीति गरेको व्यक्तिले संविधानभन्दा बाहिर गएर जीवनको यो समयमा गर्नुहुन्छ भन्ने मलाई लाग्दैन,' उनले भने, 'त्यसो उहाँले गर्नुहुने छैन । तर एउटा कुरा प्रधानमन्त्रीजीलाई मेरो सुझाव छ, प्रधानमन्त्रीले उहाँलाई अब गठबन्धनका बीचमा भएका शर्तहरूलाई जिम्मा लिएर उहाँले राष्ट्रपतिको भूमिका गर्नुपर्छ भन्ने सोच्नुभयो भने त्यो भूमिका उहाँले गर्ने होइन । त्यो भूमिका पार्टीले गर्छ । पार्टीको सभापतिले गर्नुहुन्छ । नेपाली कांग्रेस पार्टीले गर्छ ।’
गठबन्धनमा भएका शर्तहरूको जिम्मा राष्ट्रपतिले लिएर सोहीअनुसार भूमिका गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए । गठबन्धनका बीचमा भएको शर्तहरू कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उनको भनाइ छ । नेता रिजालले गठबन्धनका बिचमा भएका सहमति कार्यान्वयन पार्टीले गर्ने र त्यसका लागि नेपाली कांग्रेस इमानदार हुने बताए । ‘हतारमा पुरानो गठबन्धन छोडेर प्रधानमन्त्री बन्न नयाँ गठबन्धन प्रचण्डजीले बनाउँदा अब गठबन्धनको मूल कार्यभारलाई बोक्ने व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्छ भन्ने भाव रह्यो । त्यस्तो राष्ट्रपति बन्यो भने प्रधानमन्त्रीले संविधानले दिएको भूमिका गर्न सक्दैन भन्ने प्रचण्डजीको मनमा संशय र त्रास पनि पैदा भयो,' उनले भने, 'त्यो संशय र त्रासबाट उहाँले अर्को राजनीतिक गठबन्धन खोजि गर्नुभयो । पुरानो गठबन्धनबाट फिर्ता हुने कोसिस गर्नुभयो । उहाँको समर्थनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको छ ।'
रिजाले राष्ट्रपति पौडेल गठबन्धनको परिधिभित्र नबस्ने बताए । पौडेल आफ्नो पूर्वपार्टी नेपाली कांग्रेसको परिधिभित्र पनि नबस्ने स्पष्ट पारे । संविधानको परिधिभित्र बस्ने र संविधानको भावनाभन्दा बाहिर गएर कुनै भूमिका नखेल्ने उनको विश्वास छ । ‘सुयोग्य व्यक्ति राष्ट्रपतिका लागि निर्वाचित हुनुभएको छ । यो संविधानलाई पूर्ण रूपमा आत्मसात गरेको मान्छे । यो संविधानभन्दा बाहिर रत्ती पनि विचार नराख्ने मान्छे समकालीन राजनीतिमा अरु कोही देखेको छैन,' रिजालले भने, 'रामचन्द्र पौडेलजति संविधानकाप्रति प्रतिवद्ध कुनै पनि पार्टीमा अर्को नेता देखेको छैन । रामचन्द्र पौडेलले संविधानको भावनाभन्दा बाहिर गएर राष्ट्रपतिको भूमिका गर्नुहोला भन्ने मलाई लाग्दैन । संविधानले परिकल्पना गरेको राष्ट्रपतिको भूमिका भन्दा बाहिर जानुहुन्न भन्ने विश्वास गर्ने बलियो आधार छ ।’
नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभूमिका नेताहरूलाई मिलाएर सोही अनुरूपको राजनीतिक धार बोकेमा कांग्रेसले साथ दिन नसक्ने चेतावनी दिए । माओवादी केन्द्र वैचारिक रूपमा अन्य माओवादी घटकहरूसँग एक भएको खण्डमा नेपाली कांग्रेस पनि संसदीय फाँटका राजनीतिक दलहरूसँग एकै ठाउँमा उभिने उनले बताए । उनले माओवादी केन्द्रका नेताहरूलाई जोखिम पार्नु नहुनेमा विगतका सात राजनीतिक दल र तत्कालीन माओवादी पार्टीको प्रतिवद्धता रहेको बताए । प्रधानमन्त्री दाहाल कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोईरालासँग गरेको हस्ताक्षर र वर्तमान सभापति शेरबहादुर देउवासँग गरेको सहमति अनुरुप हिँडेमा काँग्रेसबाट धोका नहुने स्पष्ट पारे ।
नेता रिजालले प्रधानमन्त्री दाहालले २०५२ सालमा शुरु भएको सशस्त्र विद्रोहलाई जनयुद्ध दिवसको रूपमा बिदा दिएर विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानको भावनाभन्दा बाहिर गएको बताए । दाहाल यसप्रकारको बाटोमा जान थाले उहाँलाई नेपाली कांग्रेसले बोक्न नसक्ने चेतावनी नेता रिजालले दिए । न्युज एजेन्सी नेपाललले गरेको कुराकानीमा आधारित
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया