माओवादीलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौताविपरीत : उपाध्यक्ष सापकोटा
फाइल तस्बिर
काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसारअगाडि बढाउनुपर्ने बताएका छन् । शनिबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादीबीच २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताअनुसार संक्रमणकालीन न्यायको विषयअगाडि बढ्नुपर्ने बताएका हुन् ।
उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताए । द्वन्द्वकालका घटनाहरूको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएको उनको भनाइ छ । ‘यो मुद्दाको कुरा २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताविपरीत छ । यी विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ । गठन भएको छ,' उनले भने, 'त्यसले काम पनि शुरुवात गरिरहेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् नै संक्रमणकालीन न्यायसम्बन्धी विषयहरू समाधान गरिनुपर्छ । यो कुरा गठबन्धनका आठ दलले पनि निर्णय गरिसकेका छन् । त्यस्तै संसद्बाहिर भएका घटकहरूले पनि गरिरहेका छन् ।’
देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउने कोशिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया