दल

उपराष्ट्रपति निर्वाचन

जसपा उम्मेदवार यादवलाई मत दिने निर्णय गर्दै कांग्रेस

इकागज |
चैत १, २०७९ बुधबार ९:६ बजे

काठमाडौं - नेपाली कांग्रेसले उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई मत दिने गरी निर्णय लिने भएको छ । उपराष्ट्रपतिका हकमा समर्थनसम्बन्धी निर्णय लिन कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । ‘उपराष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने विषयमा पहिल्यै सहमति भइसकेको छ’ कांग्रेसका एक नेताले इकागजसँग भने, ‘हामीहरूबीच जसपाका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ । उक्त सहमतिमा कांग्रेसले यताउता गर्ने अवस्था छैन । कांग्रेसले जसपालाई समर्थन गर्छ ।’

कांग्रेस सरकारमा जाने विषयमा कार्यसम्पादन समितिबाट निर्णय हुन्छ कि भन्ने प्रश्नमा ती कांग्रेसले नेताले भने, ‘पहिला उपराष्ट्रपतिको निर्वाचन हुन्छ, त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा फेरि विश्वासको मत लिनुहुन्छ, त्यसपछि मात्रै कांग्रेस सरकारमा जाने निर्णय लिने लिन्छ ।’


सरकारबाट एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएको हुँदा फेरि विश्वासको मत लिनुपरेको हो । ती नेताका अनुसार, प्रधानमन्त्रीले चैत ७ भित्रै विश्वासको मत लिने सम्भावना छ ।‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि संघीय सरकारमा कांग्रेस प्रवेश गर्नेछ’, ती नेताले भने, ‘त्यसपछि प्रदेश सरकार संघीय गठबन्धनअनुरुप निर्णय हुन्छ ।’ 

२०७९ पुस १० मा दाहाल सरकार निर्माण हुँदा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सहभागिता थियो । त्यही अनुरुप प्रदेशमा पनि गठबन्धन बनेका थिए । गठबन्धन अनुरुप नै मुख्यमन्त्री र संसदीय पदाधिकारी चयन भएका थिए । नयाँ गठबन्धनपछि मुख्यमन्त्री र सरकार फेरबदल हुनेछ । तर, प्रदेश सभाका सभामुख–उपसभामुख पद फेरबदल कठिन हुने देखिन्छ । तिनले राजीनामा नदिएको खण्डमा तिनलाई हटाउन दुई तिहाइ मत चाहिन्छ ।


 


Author

थप समाचार
x