प्रशिक्षक उत्पादन गर्दै माओवादी केन्द्र
फाइल फोटो
काठमाडौँ - सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ । माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा मंगलबारदेखि ‘केन्द्रीय प्रशिक्षक कार्यक्रम’ चलिरहेको छ । यस कार्यक्रममार्फत जिल्ला जिल्लामा पार्टीको प्रशिक्षक उत्पादन गर्न लागिएको जनाइएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट १ जना, प्रत्येक प्रदेशबाट २÷२ जना, जनवर्गिय संगठनका केन्द्रीय अध्यक्षहरु र केन्द्रीय स्कुल विभागका सदस्यहरुको उपस्थिति रहेको छ । ११ गतेसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रका शिर्ष नेताहरु तथा विषयविज्ञहरुले प्रशिक्षण दिने पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए । स्कुल विभागले तय गरे अनुरुपको पाठ्यक्रममा आधारित भएर २६ वटा कक्षा प्रशिक्षार्थीहरुलाई दिइने उनले बताए । उपमहासचिव तथा केन्द्रीय स्कुल विभागका संयोजक पोखरेलले पार्टीको विचारधारात्मक स्तर निकै कमजोर हुँदै गएकोले यस किसिमको प्रशिक्षण आवश्यक परेको बताए ।
उनले प्रशिक्षणबाट आलोचनात्मक चेत भएको मान्छे उत्पादन गर्ने, कार्यकर्ताहरुलाई जनसमुदायसँग गाँसिएको सेवक बनाउन खोजिएको बताए । उनले भने, – ‘हामीले महशुस गरेको कुराचाहीँ हाम्रो विचारधारात्मक स्तर निकै कमजोर भएर गएको छ । हिजो एउटा समयमा हामी स्कुलिङको कामलाई, विचारधाराको कामलाई धेरै ठूलो महत्व दिन्थ्यौँ हामी । अहिले १५ वर्ष भएछ हाम्रो पार्टी स्कुल नचलेको । कम्युनिष्ट आन्दोलन भनेको विचारधारात्मक आन्दोलन हो । आज नेपालमा कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी विचारहरु बोलवाला हुँदै गएका छन् । विर्सजनवादी विचारहरु देखापर्दै गएका छन् । त्यसको एउटा कारण चाहीँ हामीले विचारधारात्मक कामहरुलाई हामीले छोड्यौँ । सामान्यतः आधारभुत शिक्षा लिइसक्नुभएको छ । अब हामी मध्यमस्तरीय पढाइ हुँदै अगाडी जान खोजिराखेका छौँ । प्रशिक्षकहरु उत्पादन गर्ने कार्यक्रम हो । विचार रिचार्ज गरिराख्नु पर्छ अनि मात्र मान्छे सशक्त हुन्छ । आफूलाई मजबुद बनाउँदछ । हामीले आलोचनात्मक चेत भएको मान्छे पनि बनाउन खोजेका हौँ । जनसमुदायसँग गाँसिएको सेवक पनि बनाउन खोजेका हौँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया