सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ : लोसपा
फाइल तस्बिर
काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरूलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका हुन् । उनले निर्वाचन अघिको नै गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष नै टिकाएर लैजान पार्टीले भूमिका खेल्ने उल्लेख गरे ।
भण्डारीले गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानुनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय बैठकले गरेको बताए ।
वरिष्ठ नेता भण्डारीले बैठकले पार्टीको संगठन विस्तार गर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन निर्णय गरेको पनि जिकिर गरे । उनले बारा-२ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वाभाविक रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया