दल

'फरक क्षमता भएका व्यक्तिका लागि आवश्यक स्वास्थ्य सामग्री पनि स्वास्थ्य बिमा कार्यक्रममा समेटिनु पर्छ'

इकागज |
चैत १०, २०७९ शुक्रबार १७:७ बजे

फाइल तस्बिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले फरक क्षमता भएका व्यक्तिहरूका लागि आवश्यक स्वास्थ्य सामग्री पनि स्वास्थ्य बिमा कार्यक्रममा समेट्नुपर्ने बताएकी छिन् ।​

नेत्रहीन महिला संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औंल्याएकी हुन् । सांसद कार्कीले स्वास्थ्य बिमा कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरूका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू समेट्नका लागि नीति निर्माण नै गर्नुपर्ने भएको उल्लेख गर्दै त्यसमा आफूले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।


उनले निजी क्षेत्रका संघ, संस्थाहरूलाई पनि सामाजिक उत्तरदायित्व अन्तर्गत फरक क्षमता व्यक्तिहरूलाई रोजगारी दिने कुरामा विशेष ध्यान दिन आग्रह गरिन् । सांसद कार्कीले संविधानले फरक क्षमता भएका व्यक्तिका लागि विशेष व्यवस्था गर्न भने पनि त्यस अनुसार निजी क्षेत्रले काम नगरेकोमा असन्तुष्टि समेत व्यक्त गरिन् ।

सांसद कार्कीले फरक क्षमता भएका व्यक्तिमैत्री हुनेगरी सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरूको पनि ध्यानाकर्षण गराइन् । कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरूका लागि विशेष व्यवस्था गर्न अझै गम्भीर नभएको भन्दै सरकारको आलोचना गरिएको थियो । 


Author

थप समाचार
x