दल

यस्ता छन् एमाले सचिवालय बैठकका निर्णयहरू

इकागज |
चैत १८, २०७९ शनिबार १६:५८ बजे

काठमाडौँ- नेकपा एमालेले आगामी वैशाख १० गते हुने चिवतन क्षेत्र नम्बर २ र तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रामप्रसाद न्यौपाने र तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सर्बेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीको सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा दुवै जनालई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


तर, एमालेले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भने भोलि (आइतबार) सम्म उम्मेदवार तय गर्ने जनाएको छ । त्यहाँको तरल राजनीतिक अवस्थाका कारण आज र भोलिसम्म थप छलफल गरेर सो क्षेत्रमा उम्मेदवार तय गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए । त्यसका लागि आवश्यक छलफल गरेर निर्णय लिने जिम्मेवारी भने बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।​

त्यसैगरी एमालेले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि ठोस, सार्थक र शिघ्र पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ । मिटर ब्याज असुल गर्ने कामलाई अपराध ठहर्‍याउने गरी कानुनी व्यवस्था गर्न र त्यस्ता अपराध कर्ममा लागेकाहरूलाई तत्काल कडा कानुनी कारबाही गर्न पनि बैठकले सरकारसँग माग गरेको पार्टीका प्रचार विभाग प्रमुख गुरुङले बताए ।

बैठकले अप्रिल २२ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसबाट लागू हुने गरी पार्टीको वार्षिक कार्यक्रम बनाउने निर्णय गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पार्टीका सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरूलाई निर्देशन समेत दिएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औँ वर्ष प्रवेश हुने भएकाले सोही अवसरमा सोही दिनबाट लागू हुने गरी पार्टीको वार्षिक कार्यक्रम बनाउनका लागि पार्टी सचिवालय र स्थायी कमिटीमा सदस्यहरूलाई सुझाव दिन पनि बैठकले निर्देशन दिएको एमालेले जनाएको छ ।


Author

थप समाचार
x