रामपुर क्याम्पसमा पुनः स्ववियु निर्वाचन गर्न काँग्रेसको माग, विद्यार्थीमाथि कुटपिटको घटना निन्दनीय
काठमाडौँ - नेपाली कांग्रेसले चितवनको रामपुर क्याम्पसमा भएको स्ववियु निर्वाचन रद्द गर्न माग गरेको छ । नेपाल विद्यार्थी संघको उपस्थिति विना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलोमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरेको भन्दै कांग्रेसले पुनः निर्वाचन गर्न माग गरेको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिनु अत्यन्त खेदजनक भएको उल्लेख गरेको छ ।
उक्त अवैधानिक कार्यको विरोध गर्दा, क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेपाल विद्यार्थी संघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहेका आशिष देवकोटा र निवर्तमान ईकाइ अध्यक्ष सुरज यादव गम्भीर घाइते भएको प्रति पनि कांग्रेसले घोर भर्त्सना गरेको छ । घाइते विद्यार्थीहरूको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
यता, नेविसंघले पनि निर्वाचन अधिकृत सुर्यप्रसाद शर्मा र क्याम्पस प्रशासनले एकलौटी गरेको भन्दै पुन निर्वाचनको माग गर्दै त्रिभुवन विश्वविद्यालयका रेक्टर, शिवलाल भुषाललाई ज्ञापनपत्र बुझाएको छ ।
रामपुर क्याम्पसमा गत चैत १७ गते स्ववियु निर्वाचन भएको थियो । समानुपातिक निर्वाचनको अन्तिम मतपरिणाममा अखिल संयुक्त ११९ मत पाएको थियो भने नेविसंघले शून्य मत पाएको थियो । कूल खसेको १२० मतमा १ मत बदर भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया