लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइ आज
दाबी विरोध र उजुरीउपर आजै स्पष्टीकरण बुझाउनु पर्ने
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ । मंगलबारका लागि सुनुवाइको पेसी तोकिए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि बुधबार १० बजेका लागि न्यायाधीश सिन्हाहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्चका न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा आफ्ना राय आइसकेकाले आफूरहितको इजलासमा निवेदन पेस गर्नुपर्ने जनाएका छन् ।
नेता लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधीवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल) सर्वोच्च पुगेका थिए ।
यसैबीच चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका लामिछानेविरुद्ध परेको दाबी विरोध र उजुरीमा आज उनले स्पष्टीकरण बुझाउनु पर्नेछ । रविविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको हो ।
बुधबार (आज) दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार रविविरुद्ध तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ । सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध मंगलबार तीनजना उमेदवारले उमेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गराएका छन् ।
स्वतन्त्र उमेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र अर्का स्वतन्त्र उमेदवारका प्रतिनिधि शिवबहादुर सुवेदीले दाबी विरोध गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया