दल

ओलीले भने : सत्ता गठबन्धनले सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्छ

इकागज |
चैत २३, २०७९ बिहीबार १८:२४ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् ।

बिहीबार पार्टी निकट पेशागत महासंघ, नेपालको महाधिवेशन उद्घाटन गर्दै ओलीले यसअघि प्रधानन्यायाधीशलाई महाभियोग लगाउने गठबन्धन नै अहिले रहेकाले कुनै पनि बेला सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्ने बताएका हुन् । अहिलेको गठबन्धनसँग लाजशरम भन्ने नै नरहेको संसद्‍मा २५ प्रतिशत र बहुमतको बल देखाउन सक्ने उनको भनाइ छ ।


ओलीले यसअघि गठबन्धनले राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन धेरै पटक खोजेको भए पनि सफल हुन नसकेको बताए । उनले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याएर नियतवश नै सर्वोच्च अदालतलाई लामो समय नेतृत्वविहीन बनाएको जिकिर गरे । उनले गठबन्धनको सरकारबाट सकारात्मक भूमिकाको अपेक्षा गर्न नसक्ने र गठबन्धन अस्थायी भएको धारणा राखे ।

ओलीले जनताको मत जितेर एमाले अहिलेको अवस्थामा आएको भन्दै सरकारलाई खबरदारी गरिरहने उल्लेख गरे । अध्यक्ष ओलीले अहिलेको सरकार आउनेबित्तिकै विभिन्न निकायमा अनावश्यक भर्ना, नियुक्ति गरेर तमासा देखाएको जिकिर गरे । उनले यसअघिको समाभुखले एउटा पक्षको प्यादाका रूपमा काम गरेको र पदीय मर्यादालाई माटोमा मिलाउने काम गरेको आरोप लगाए ।

उनले सिंगो कर्मचारीतन्त्रको इन्जिनका रूपमा काम गर्न संगठनलाई सुझाव दिनए । कर्मचारीतन्त्रमा सेवाभावको कर्तव्य पूरा गर्नका लागि अघि बढ्न उनले आग्रह गरे । ओलीले सेवा दिने कर्मचारीले कसैमाथि आस्थाका आधारमा भेदभाव गर्न नहुने धारणा राखे ।


Author

थप समाचार
x