चितवन कांग्रेसका विद्रोही नेता उपनिर्वाचनमा एकढिक्का, लागे जितनारायण जिताउन
फाइल फोटो
काठमाडौँ - निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गरेका छन् । उनीहरूले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिन्हवाहक उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।
विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएर पार्टीबाट विद्रोह गरेका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, गठबन्धनका विरुद्ध एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त अपिल जारी गरेका हुन् ।
'नेपालको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक परिस्थिति निरन्तर जटिल बन्दै गइरहेको र मुलुक समस्यामा हुँदा त्यसको निकास नेपाली काँग्रेसले मात्र दिनसक्छ भन्ने तथ्य विगतदेखि वर्तमानसम्मको इतिहासले पुष्टि गरिसकेको छ', जारी अपिलमा भनिएको छ ।
कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको भन्दै अपिलमा भनिएको छ, 'मुलुकका गम्भीर समस्याको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक छ ।'
उनीहरुलगायत विगतको निर्वाचनमा विद्रोह गरेका प्रायःसबै पार्टीमा एकढिक्का भएका छन् । यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएका छन् ।
चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट पूर्वसभापति जीतनारायण श्रेष्ठ उम्मेदवार छन् । काँग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उनीहरूले आफूहरू कांग्रेसका उम्मेदवारका पक्षमा उभिएको बताए । उनीहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुनःकांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुन अपिल गरेका हुन् ।
पार्टीको केन्द्रीय समितिले तत्कालीन सभापति सुशील कोइरालासँग चितवनमा बागी उम्मेदवार बनेपछि कारबाहीमा परेका पूर्वजिल्ला सभापति विकास कोइरालाको कारबाहीसमेत फुकुवा गरेको छ । यससँगै कोइराला पनि पार्टीका उम्मेदवार जिताउन लागि परेका छन् ।
जिल्ला सभापति राजेश्वर खनालले यसअघिका निर्वाचनमा विद्रोह गरेर विभिन्न ठाउँमा उभिएका अहिलेको निर्वाचनमा सबै एक ठाउँमा उभिएको बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया