दल

एमाले हेटौंडाले एक हजार अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने

इकागज |
चैत ३०, २०७९ बिहीबार २०:१४ बजे

मकवानपुर- नेकपा एमाले मकवानपुरले पार्टी सुदृढीकरण तथा विस्तार तथा मिसन ग्रासरुट अभियान अन्तर्गत हेटौंडा उपमहानगरपालिका भित्रका एक हजार अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने भएकाे छ । पार्टी महासचिव शंकर पोखरेलले आगामी २ वैशाखमा हेटौंडामा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने भएका हुन् । एमाले हेटौंडा नगर कमिटीले बिहीबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो ।

प्रशिक्षणका लागि एमाले केन्द्रीय महासचिव पोखरेलले बन्द प्रशिक्षणसंगै कार्यकर्तालाई पार्टी प्रवेश समेत गराउने कार्यक्रम रहेको छ । पार्टीको केन्द्रीय सचिवालयको गत माघ २६ गतेको बैठकले पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।


पार्टीको निर्णय बमोजिम अभियानको उद्देश्य, कार्यादेश र कार्ययोजना र जिम्मेवारी तोकी बागमती प्रदेश संगठन कमिटी, जिल्ला कमिटी मकवानपुरले अभियानका विषयवस्तुहरूलाई थप एकीकृत र एकताबद्ध गराउन हेटौडाको पालिकादेखि वडातहसम्म जिम्मेवारी दिइएको बताइएको नगर अध्यक्ष शालिक पुडासैनीले बताए ।

पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत् आधारभूत तहमा पार्टी सदस्यहरूको वास्तविक तथ्याङ्क उनीहरूको अवस्था, पालिका, वडा र टोल कमिटीको क्रियाशीलता र आधारभूत तहमा पार्टीको अवस्थाको यथार्थ र वस्तुनिष्ठ जानकारी प्राप्त गर्ने मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९ को उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

मिसन ग्रासरुट अभियानबाट पार्टीको आधारभूत पङ्क्ति पार्टीका आधारभूत सैद्धान्तिक राजनीतिक विषयमा प्रशिक्षित हुने, स्थानीय तहमा उत्पन्न हुन सक्ने या भएका अन्तरविरोधको पहिचान र तिनको समाधानका ठोस विकल्प प्राप्त हुने, पार्टी कमिटी र जनप्रतिनिधिहरूबीचको सम्बन्धबारे वैचारिक राजनीतिक र संरचनागत स्पष्टता हासिल हुनुका साथै स्थानीयतहका जनप्रतिनिधिहरूको भूमिका थप प्रभावकारी हुने पार्टी जिल्ला अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेषठले बताए ।

यसैगरी अभियानले पार्टी संभावनायुक्त नयाँपुस्ताको पहिचान हुनुका साथै पार्टीलाई जनसरोकारका विषयलगायत समाजका विभिन्न क्षेत्रका रचनात्मक सुझावहरू हासिल हुने, नेता र कार्यकर्ताबीच एवं पार्टी र जनताबीचको सम्बन्ध थप घनिष्ट हुने, अभियान पश्चात पार्टीको प्रभाव विस्तार हुने, पार्टी अनुशासित र एकताबद्ध हुने, पार्टीको सङ्गठनात्मक अवस्था सुदृढ हुने उद्देश्य समेत लिएको पार्टी सचिव नविन सिग्देलले बताए ।

एमाले हेटौंडा उपमहानगर कमिटीमा पार्टी सदस्य संख्या ३ हजार ७ सय ४ , नयाँ सदस्य सिफारिस संख्या ८ सय ७१ तथा नवीकरण भएको संख्या २ हजार ५ सय १६ रहेको जनाएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा वडा कमिटी गठन भएको पार्टीको टोल कमिटी गठन भएको संख्या २ सय ३ रहेको छ ।


Author

थप समाचार
x