जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाएः योगेश भट्टराई
फाइल फोटो
काठमाडौँ - नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ढाँटेको बताएका छन् । आइतबार भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिस्पर्धा गर्नु भनेको देश, जनता, कानुन, संविधानलाई ढाँट्नु भएको बताए । उनले नेकपा एमालेलाई ७० वर्षसम्म पनि नआएका प्रश्नहरूको सभापति लामिछानेले ७ महिना नपुग्दै यति धेरै जवाफ दिनुपर्ने स्थितिको सिर्जना भएको बताए ।
उनले सभापति लामिछानेले दिएका भ्रष्टाचार, सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै भएको बताए । उनले रास्वपा सभापति लामिछाने र्अग्यानिक क्याण्डिडेट नभएको बताए । उनले सभापति लामिछानेले सार्वजनिक खरिद ऐनको विपरीत ठेक्कापट्टामा निर्णय गरेको भन्दै विरोध गरे ।
उनले भने, ‘हामी नेकपा एमालेलाई त जनताले प्रश्न गर्छन्, गर्नुपर्छ । हामीलाई जे प्रश्न आएका छन्, करिब ७० वर्षको अन्तरालमा आएका प्रश्न हुन् । तर रवि लामिछाने जीलाई ७० वर्ष होइन, ७ महिना पनि परेन । यति छोटो समयमा हामीलाई भन्दा धेरै प्रश्न आइसकेका छन् । त्यसैले उहाँले दिएका भ्रष्टाचार विरुद्धका नारा, सुशासनका नाराहरू यी सबै बेकार हुन् । यी सबै जनतालाई भ्रममा पार्ने कुरा हुन् । उहाँ कुनै भर्जिन, र्अग्यानिक क्याण्डिडेट होइन । उहाँको व्यक्तिगत कुरा सबै मान्छेले देखिरहेका नै छन् । उहाँको पार्टीमा के के भइरहेको छ, अडियो काण्ड आइरहेका नै छन् । कसरी उहाँले सार्वजनिक खरिद ऐनको विपरीत ठेक्कापट्टामा निर्णय गर्नुभयो, भोलिपल्ट मन्त्री पद छोड्नुपर्ने भयो । अघिल्लो दिन हतार हतार फाइलहरू किन स्वीकृत भए । यी प्रश्न छन् । एउटा सभ्य समाजमा मान्छेले गल्ती गर्नसक्छ, त्यसप्रति माफी पनि हुन्छ । तर सभ्य समाजलाई ढाँट्ने कुरा ठूलो अपराध हो । रवि लामिछानेजीले गल्ती गर्नुभएको होइन, ढाँटेको हो । समाज र राज्यलाई ढाँटेको हो । सिंगो मुलुकलाई ढाँटेको हो । कानुन, संविधान यी सबै कुरालाई ढाँट्नुभएको हो । उहाँले ५ वर्ष ढाँटेको प्रतिको प्रायश्चित गर्नुपर्ने थियो । तर अहिले चुनाव लडिरहनुभएको छ । त्यसले कस्तो राजनीतिकर्मी अघि बढाउने हो भन्ने कुरा हो ।’
सचिव भट्टराईले जनतालाई ढाँटेको प्रति ५ वर्ष प्रायश्चित गर्नुपर्नेमा लामिछाने चुनाव उठिरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया