Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

दल

सेतीमा कर्मचारी भर्ना निष्पक्ष हुनुपर्छ भनेका भट्टमाथि माओवादीको कारबाही

इकागज |
बैशाख ६, २०८० बुधबार २०:४८ बजे

धनगढी- सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्ना प्रक्रियाको विरोध गर्दा डिल्लीराज भट्ट नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका छन् । अस्पताल व्यवस्थापन समितिका सदस्य रहेका भट्टलाई नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटीको पदाधिकारी बैठकले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

नगर अध्यक्ष सुरज खातीको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले पार्टीको विधि र नीति विपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । नगर कमिटी सचिव रमेश भट्टराईले पार्टीको अनुशासन विपरीत काम गरेकाले भट्टलाई कारबाही गरिएको बताए ।


सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्नामा अनियमितता भइरहेको भन्दै भट्टले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेलाई विधिसम्मत काम गर्न ध्यानाकर्षण गराएका थिए । सोही विषयलाई लिएर माओवादी केन्द्रको धनगढी नगर कमिटीका अध्यक्ष सुरज खातीले २८ चैतमा भट्टलाई स्पष्टीकरण सोधेका थिए ।

‘तपाईंलाई पार्टीको तर्फबाट सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्यको जिम्मेवारी दिइएको, उक्त अस्पतालमा पार्टीको तर्फबाट व्यवस्थापन समितिको अध्यक्ष हुँदा तपाईंले संस्था र पार्टीको हित विपरीत कार्य गरेका पाइएकाले दुई दिन आफ्नो लिखित जवाफ पेश गर्नका लागि यो पत्र पठाइएको छ,’ अध्यक्ष खातीले सोधेको स्पष्टीकरण पत्रमा भनिएको थियो ।

भट्टले दुईभित्र जवाफ पेश गरेको भए पनि चित्त नबुझेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरिएको हो । भट्ट माओवादी केन्द्रको धनगढी नगर सचिवालय सदस्य, प्रचारप्रसार विभाग प्रमुख र वडा नम्बर ४ को इन्चार्जको जिम्मेवारीमा थिए ।

प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य भट्टले भने पार्टीले गरेको कारबाही आन्तरिक विषय भएको प्रतिक्रिया दिएका छन् । उनले पार्टी कमिटी र नेतृत्वसँग कारबाहीको विषयमा आफूले छलफल गरिरहेको बताउँदै अस्पताल व्यवस्थापन समितिको सदस्यको हैसियतमा व्यक्तिगत स्वार्थपूर्ति गर्न ऐन, कानून विपरीत काम गर्न नसक्ने बताएका छन् । 

उनले अस्पतालमा कर्मचारी भर्ना गर्दा पारदर्शी हुनुपर्छ भन्दा कारबाही भोग्नु आपत्ति जनक भएको बताए । 'हामी सबै जना विधि र पद्धति अनुसार चल्नुपर्छ । सामान्य जनताको छोराले पनि सेवा गर्ने अवसर पाउनुपर्छ । पहुँचको भरमा कर्मचारी भर्ना गरिनु हुँदैन । त्यसमा म दृढ छु,' उनले भने । राम्रो काम गर्न खोज्दा पार्टीबाट कारबाही भोग्दा आफू अचम्मीत परेको उनको प्रतिक्रिया छ ।

करिब २८ लाख नागरिकको जीवन सेती प्रादेशिक अस्पतालसँग जोडिएको हुँदा व्यक्तिगत र संस्थागत स्वार्थपूर्ति हुने प्रवृत्ति विकास हुँदै गएमा कुनै पनि परिस्थितिमा कसैलाई पनि आफ्नो साथ र सहयोग नरहने भट्टको भनाइ छ ।

'म न्याय र सत्यको पक्षमा उभिने व्यक्ति हुँ । मैले आम जनताका पक्षमा बोल्दा कहाँ काम बिगारेँ । पार्टी कार्यकर्ताको रूपमा पार्टीको सिद्धान्तप्रति सदैव अविचलित रूपमा उभिँदै आएको छु र आगामी दिनमा पनि सिद्धान्तमा प्रतिवद्ध रहने छु । सुदूरपश्चिम प्रदेशमा रहेका आम नागरिकको जनजीवनसँग खेलवाड हुने प्रवृत्तिका कामममा मेरो सहयोग रहने छैन,' उनले भने ।


Author

थप समाचार
x