देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने अवस्था छ : प्रकाण्ड
फाइल तस्बिर
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले देशको अस्तित्व संकटमा पर्न लागेको बताएका छन् ।
बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले देश असाध्यै संकटपूर्ण अवस्थामा रहेको बताए । उनले देशको अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको जिकिर गरे । उनले एमसीसी प्रोजेक्ट देशको विरुद्धमा केन्द्रित रहेको र भारतीयहरूले सिमाना मिचिरहेको भन्दै देशको स्वाधिनतामाथि नै प्रश्न उठेको बताए ।
प्रवक्ता विश्वकर्माले विश्वका शक्ति राष्ट्रहरूको संघर्ष दुश्मनीपूर्ण अवस्थामा पुगेको उल्लेख गरे । उनले अमेरिका र चीनबीचको अन्तरविरोधलाई नेपालले ठीक ढंगले विश्लेषण गर्न नसके नेपाल युक्रेनको अवस्थामा पुग्ने बताए ।
प्रवक्ता विश्वकर्माले अहिलेको राजनीतिमा विचार, नीति, सिद्धान्त र नैतिकताको कुनै प्रश्न नरहेको बताए । राजनीति केवल सत्ता र कुर्सीको निम्ति गरिने षड्यन्त्रमूलक खेलका रूपमा स्थापित हुन पुगेको उनले बताए । उनले सत्ता र कुर्सीको स्वार्थका निम्ति विदेशी शक्तिहरूसँग सौदाबाजी भइरहेको उनले आरोप लगाए ।
पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा वैशाख ९ गते आफ्नो पार्टीले काठमाडौँको खुलामञ्चमा कार्यक्रम गर्ने बताए । कार्यक्रममा देशका कम्युनिष्ट तथा वामपन्थी १० वटा राजनीतिक पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने उनले जानकारी दिए ।
करिब १५ हजार मानिसहरूको सहभागिता हुने सो कार्यक्रममा शीर्ष पार्टीका नेताहरूलाई समेत निमन्त्रण गरिएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया