टिआरसीका लागि विशेष समिति बनाइने, चालु संसद् अधिवेशन १५ गतेसम्म चल्ने
काठमाडौँ- शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूको बैठकले संसदीय समितिहरूको टुंगो लगाएका छन् ।सोमबार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले संयुक्त संसदीय समिति संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गर्ने गरी टुंग्याएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदीय सुनुवाइ समितिमा सभापति नेपाली कांग्रेसले गर्ने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा एमालेले गर्ने सहमति भएको बताए । उनले प्रतिनिधि सभामा भएका १० विषयगत समितिमध्ये नेकपा एमालेले लेखा समिति र अर्को एक समितिको सभापति पाउने सहमति भएको पनि जिकिर गरे ।
उनले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट नै टुंगो लगाउने र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक भने १५ सदस्यीय विशेष समितिमा छलफल गरेर मात्रै टुंगो लगाउने सहमति भएको भनाइ राखे । गिरीले संसदीय सुनुवाइ समितिमा नेकपा एमालेले ४ जना सदस्य नै पाउने सहमति भएको पनि बताए । उनले चालु अधिवेशन यही वैशाख १५ गतेसम्म चल्ने पनि उल्लेख गरे ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका लागि १५ सदस्यीय विशेष समिति बनाइ छलफल गर्ने र अर्को अधिवेशनबाट पास गर्ने सहमति भएको बताए । उनले चालु संसद् अधिवेशन अब एक, दुई दिनमात्रै चल्ने बताए।
त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् भित्र भएका सबै राजनीतिक दलहरूसँग आपसमा सहमतिका आधारमा नै संसद् सञ्चालन गरेर अघि बढ्ने सहमति अनुसार शीर्ष दलका नेताहरूबीच सहमति भएको जिकिर गरे । सबै दलहरूलाई समेटेर नै विषयगत समितिहरू पनि टुंग्याइएको उनकाे भनाइ छ ।
प्रमुख सचेतक लेखकले चालु अधिवेशन अब दुई, तीन दिन मात्रै सञ्चालन हुने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया