Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

दल

उपनिर्वाचनमा खुम्चियो एमाले, तीनै क्षेत्रमा तेस्रो

इकागज |
बैशाख १३, २०८० बुधबार ७:१३ बजे

काठमाडौँ- हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीन वटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ ।

चितवन–२ मा पहिलाभन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो । तीन वटै निवार्चन क्षेत्रमा एमाले १८ हजारभन्दा बढी मतान्तरले पराजय हुन पुगेको छ । 


चितवन–२ मा अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले ल्याएको १४ हजार ७ सय ५२ मत जति पनि अहिले रामप्रसाद न्यौपानेले ल्याउन सकेनन् । उनले बरु पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत ल्याए । सो निर्वाचन क्षेत्रबाट न्यौपानले १० हजार ९ सय ३६ मत मात्रै प्राप्त भयो ।

सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५४ हजार १७६ ल्याएर विजयी भए भने नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए ।  

न्यौपाने लामिछानेभन्दा ४३ हजार ७ सय ८० मतले पछि परेका छन् । 

यसैगरी तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुग्यो । उनले त १० हजार मत पनि कटाउन सकेनन् । उनी ८ हजार ४ सय ८८ मतमा सिमित भए ।

सो निर्वाचन क्षेत्रमा रास्वपाका स्विर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित विजयी भएका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुगे । विजयी वाग्लेभन्दा एमालेका खनाल २६ हजार ४ सय ३१ मत अन्तरले पछि परेका छन् । 

उता बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार २१६ मत मात्रै प्राप्त गर्न सफल भए ।

सो क्षेत्रबाट विजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत ल्याएका थिए भने उपविजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएका थिए । 

विजयी यादवभन्दा एमालेका पौडेल १८ हजार १९९ मतले पछि परेका छन् । 


Author

थप समाचार
x