'विपद् व्यवस्थापनबारे भइरहेको पूर्वतयारीबारे संसदलाई जानकारी गराउन माग'
फाइल फोटो
काठमाडौँ - आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहले विपद् व्यवस्थापनबारे भइरहेको पूर्व तयारीबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
रौतहटलगायतका जिल्लाहरूमा आगलागीका घटना दिनहुँ भइरहेको उल्लेख गर्दै उनले त्यसको न्यूनीकरणका लागि सरकारले के गरिरहेको छ ? भनि प्रश्न समेत गरे । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै अध्यक्ष साहले रौतहटका आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए । उनले वर्षा लाग्न सुरु भइसकेको उल्लेख गर्दै त्यसबाट हुने क्षति न्यूनीकरणका लागिपनि सरकारको ध्यानाकर्षण गराए ।
अध्यक्ष साहले भने, ‘प्राकृतिक प्रकोपबाट हुने क्षति रोक्न के भइरहेको छ ? हामी जान्न चाहन्छौं । दिनदिनै आगलागीका घटनाहरू सुनिरहेका छौं । रौतहटमा आगलागीबाट १३ वर्षीया बालिकाको निधन नै भयो । यसरी कुनै दिन छैन कि आगलागीको घटना नभएको सुनियोस् । त्यसैले यो घटनालाई न्यूनीकरण गर्न, यसलाई रोक्न विपद् व्यवस्थापनको जिम्मा पाएका निकायहरूले के गरिरहेका छन ? जान्न चाहन्छौं हामी । अहिले मात्रै होइन । वर्षेनी यो घटनाहरु दोहरिरहेका छन । केही महिना अघि शीत लहरबाट मान्छे मरेको सुन्थ्यौं । अहिले आगलागीबाट मान्छे मरिरहेको छ । केही दिन नबित्दै अव असिना र हावाहुरीले मान्छे मर्छन । फेरी वर्षा आउँछ । पहिरो, बाढीले मान्छे मर्छ । यसको अग्रिम तयारी कसले गर्ने हो, कहिले गर्ने हो ? के भइरहेको छ ? हामी जान्न चाहन्छौं । अहिलेसम्म पीडितहरुले न्याय पाएका छैनन् । रौतहटमा आगलागी पीडितहरुले राहत पाएका छैनन् । उनीहरूले अर्काको घरमा र आकाशमुनि त्रिपालमा जीवन जिउनु परेको छ । अव वर्षा आउँदैछ । ठूलो क्षति हुन्छ । यसको पूर्व तयारी कसरी गरिरहेको छ नेपाल सरकारले ? जान्न पाए हुन्थ्यो ।’
अध्यक्ष साहले वर्षेनी विपद आउने तर सरकारले आवश्यक सावधानी नअपनाएकै कारण नागरिकको ज्यान जाने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया