निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ : बिजुक्छेँ
फाइल फोटो
भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गरिब जनतालाई निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताएका छन् ।
आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत नर्सहरुसँगको अन्तरक्रियामा उनले निजी अस्पतालले स्वास्थ्य सेवालाई भन्दा नाफालाई बढी प्राथमिकतामा राख्दा सेवाग्राही बिरामी चर्को मारमा परेको बताएका हुन् ।
बिजुक्छेँले भने, 'चिकित्सक तथा नर्सले नम्र भाषा र असल व्यवहारबाट बिरामीको सेवा गर्नसके बिरामीको मन जित्न सकिन्छ । चिकित्सक र कर्मचारीले आफ्नो पदीय दायित्वमात्र पूरा गर्ने नभई मन, वचन र कर्मबाट जनताको स्वार्थ भावनाले काम गर्न प्रेरित गर्नुपर्छ ।'
पुँजीवादी समाजमा समाजवादी विचार र सिद्धान्तले काम गर्नु चुनौतीपूर्ण हुने बताउँदै उनले असल नियतबाट हुने काममा जनताको पनि साथ र सहयोग रहने हुँदा अस्पताल तथा अन्य संस्थामा हुने कामको समय समयमा अनुगमन तथा निरीक्षण हुनुपर्ने औँल्याए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप अस्पतालबाट हुने सेवा विस्तारमा जनगुनासो कम हुने ढङ्गले चिकित्सक र कर्मचारीले काम गर्नुपर्ने बताए ।
अस्पतालमा कार्यरत स्टाफ नर्सहरुले ख्वप अस्पतालबाट प्रवाहित सेवासुविधा र स्वास्थ्य बीमा कार्यक्रमबाट धेरै बिरामी लाभान्वित भएको बताउँदै आगामी दिनमा अस्पतालले थप सुविधा प्रदान गर्दै जानुपर्ने सुझाव दिएका थिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया