दल

पार्टी अध्यक्षमाथि आक्रमणको प्रयास गर्नेलाई कारबाही गर्न एमालेको माग

इकागज |
बैशाख १४, २०८० बिहीबार १६:३९ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकमा शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार सिंहदरबारमा एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुलुकको शान्तिसुरक्षामा अत्यन्त ठूलो चुनौती देखापरेको भन्दै शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न ध्यानाकर्षण गराएका हुन् ।

झापामा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास भएको र उक्त घटनामा संलग्नलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याई कारबाही गर्न ध्यानाकर्षण गराइएको एमाले नेता राजन भट्टराईले जानकारी दिए । उनले यस्ता प्रवृत्तिहरूलाई राज्यकै तर्फबाट स्वयं प्रधानमन्त्रीले प्रोत्साहन गर्न खोजेको देखिएको बताए ।


त्यस्तै काठमाडौँ महानगर वडा नम्बर ६ सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गर्न तदारुकता नदेखाएकाले छिटोभन्दा छिटो घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको उनले बताए । उनले नागरिकले सुरक्षाको महसुस गर्न नसकेकाले सरकार रहेको महसुस हुन नसकेको र सरकार असफल हुँदै गएको आरोप लगाए ।

एमालेका नेताहरूको भेटमा मन्त्री श्रेष्ठले घटनाप्रति सरकार गम्भीर रहेको र छिटोभन्दा छिटो दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको भट्टराईले बताए । भट्टराईले आफ्ना नेताहरूको सुरक्षाका लागि एमालेका पंक्ति लाग्नुपर्ने स्थिति आए दुर्भाग्य हुने चेतावनी दिए ।


Author

थप समाचार
x