'साम्प्रदायिक विद्वेष फैलाउने प्रधानमन्त्री दाहालले सार्वजनिक रूपमा माफी माग्नुपर्छ'
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बुधबार झापामा गरिएको आक्रमणको प्रयासलाई घोर निन्दा र भत्सर्ना गरेको छ । कमिटीको शुक्रबार बसेको पदाधिकारी बैठकले उक्त घटनाकाे निन्दा र भत्सर्ना गरेकाे जनाएकाे हाे ।
संविधान र कानुन बमोजिम प्रक्रियागत ढंगले टुंगो लागिसकेको 'कोशी प्रदेश' को नामकरणको विषयमा सत्तारूढ दलकै नेता कार्यकर्तालाई उचालेर यस प्रकारको अवाञ्छित क्रियाकलाप हुनु आपत्तिजनक भएकाे एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बताए । आज एक प्रेस विज्ञप्तिले निकाल्दै उनले संविधान अनुरूप प्रदेश सभाले गरेको निर्णयलाई मुलुकको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले गलत भएको अभिव्यक्ति दिनुले संविधान कार्यान्वयनमा गम्भीर प्रश्न उठेको बताए ।
जारी विज्ञप्तिमा भनिएकाे छ, 'प्रदेश सभाको निर्णयलाई अवमूल्यन गरेको र अराजक तथा उद्दण्डतालाई प्रश्रय दिँदै संविधान, कानुन र प्रचलित मूल्य मान्यतालाई धज्जी उडाउने काम भएकोले यस्ता कार्यको जतिसुकै निन्दा र भर्त्सना गरे पनि कम हुन्छ भन्ने हाम्रो निष्कर्ष रहेको छ । संविधानले गरेको व्यवस्था अनुसार प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुने गरी व्यवस्था गरिएको तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं ।'
बैठकले गैरजिम्मेवारी अभिव्यक्ति मार्फत सामाजिक सद्भाव र एकतालाई कमजोर बनाउने र साम्प्रदायिक विद्वेष फैलाउने प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा माफी माग्न पनि माग गरेकाे छ ।
'अतः गैरजिम्मेवारी अभिव्यक्ति मार्फत सामाजिक सद्भाव र एकतालाई कमजोर बनाउने र साम्प्रादायिक विद्वेष फैलाउने प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा माफी माग्न र पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्ने गिरोहलाई तकाल पक्राउ गरी कानुन बमोजिम हदैसम्म कारबाही गर्नका लागि जोडदार माग गर्दछौं ।'
साेहीक्रममा देशकै राजधानी काठमाडौँको सरस्वतीनगरमा दिनदहाडै निरा पाण्डे आचार्यको हत्या भएको घटनाले सरकार नागरिकहरूलाई सुरक्षा दिने कुरामा गम्भीर नरहेको देखिएकाे पनि अध्यक्ष निरौलाले उल्लेख गरेका छन् । उनले उक्त घटनालाई सरकारले बेवास्ता गरी हत्यारा पत्ता लगाई कारबाही गर्न तदारुकता नदेखाएको प्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल हत्यारा पत्ता लगाई कारबाही गर्न जोडदार माग गरेकाे बताए ।
बैठकमा आन्तरिक सांगठानिक विषय तथा देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएकाे थियाे । उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा प्रस्ताव पारित समेत गरेकाे थियाे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया