दल

प्रधानमन्त्रीलाई क्यान्टाेनमेन्ट घोटाला काण्डको फाइल खोलेर चोखो प्रमाणित गर्न लिङ्देनको चुनौती

इकागज |
बैशाख २४, २०८० आइतबार १६:२६ बजे

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी प्रकरणको छानबिनलाई निष्कर्षमा नै पुर्‍याउने गरी अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

आइतबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा एक पछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरूको नाम आइरहेको भन्दै यसबाट पछि नहट्न र छानबिनलाई निष्कर्षमै पुर्‍याउन प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।


विगतका वाइडबडी काण्ड, ललिता निवास काण्ड, एनसेल काण्डजस्तै नक्कली शरणार्थी प्रकरणलाई पनि देखाउनका लागि मात्रै छानबिन गर्न नहुने उनले बताए । उनले नक्कली शरणार्थी प्रकरणको छानबिनमा कुनै राजनीतिक स्वार्थ नभए यस विषयमा प्रधानमन्त्रीलाई राप्रपाको समर्थन रहने स्पष्ट पारे ।

लिङ्देनले अब वाइडबडी, एनसेल र ललिता निवासको फाइल पनि खोल्न सुझाव दिए । त्यस्तै उनले क्यान्टोनमेन्ट घोटाला काण्डको फाइल खोलेर आफू चोखो छु भनेर देखाउन पनि प्रधानमन्त्रीलाई सुझाव दिए । उनले यदि भ्रष्टाचारको डंगुरमा बसेर शुद्धताको मन्त्र मात्रै उच्चारण गर्न खोजेको हो भने लामो समय नपत्याउने बताए ।

देशको अवस्था असामान्य अवस्थातर्फ गई रहँदा पनि देशका नेता सत्ता केन्द्रित राजनीतिमा व्यस्त भइरहेको उनले बताए ।

त्यस्तै लिङ्देनले मुलुकको नेतृत्व गर्न सक्ने विकल्पका रूपमा राप्रपालाई स्थापित गर्नुपर्ने भन्दै यसका लागि संगठन र संघर्षलाई संगसंगै अघि बढाउनुपर्ने धारणा राखे ।


Author

थप समाचार
x